• Saturday 25th July 2026

दुर्घटनामा तीन जनाको मृत्यु, सात घाइते

दुर्घटनामा तीन जनाको मृत्यु, सात घाइते


  • लुम्बिनी रिभ्यू

सिन्धुली। तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा ल्याइएको छ ।

सातजना घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि भर्खरै सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो ।

अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उहाँहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले जानकारी दिनुभयो ।

दुर्घटनामा तीनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

बलेरोमा सातजना  घाइते र तीन मृतक गरी १० जना सवार रहेको उहाँले बताउनुभयो । सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको छ उहाँको भनाइ छ । दुर्घटनास्थलबाट गाडी निकाल्न नसकिएको उहाँले बताउनुभएको छ । अहिले स्थानीय र सुरक्षाकर्मी मिलेर गाडी निकाल्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend