काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालबाट पोष्ट नगर्न चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै सो चेतावनी दिएको हो ।
आयोगको आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने बताउनुभयो ।
पत्रकार सम्मेलनपछि जारी विज्ञप्तीमा भनिएको छ, “स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उम्मेदवारको मनोनयन गराउनु भएका उम्मेदवार तथा राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट भइरहेको र यस्ता गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुसामग्री सामाजिक सञ्जालमा नगर्न नगराउन सबैमा आयोगले चेतावनी दिन्छ ।”
निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद–२ अन्तर्गत सबैले पालना गर्नुपर्ने आचरणमा सामाजिक सञ्जालको प्रयोग र दफा २२ को (ज) मा भएको प्रावधान विपरित गरिएका यस्ता गलत कार्य बन्द गर्न सम्बन्धित पक्षलाई आयोगले ध्यानाकर्षण गराएको छ । “आचारसंहिता विपरित सामाजिक सञ्जालको प्रयोग गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसूर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानून बमोजिम कारवाही गरिने जानकारी गराइन्छ।” विज्ञप्तीमा भनिएको छ ।
निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ को निर्वाचनसम्बन्धी सूचना भरपर्दाे, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाउने उद्देश्यको कार्यान्वयन गर्न आयोगले जारी गरेको जनाएको छ ।
विज्ञप्तीमा भनिएको छ, “निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानी नोक्सानी पुर्याउने नियत राखी वा नराखी वा उक्त सूचना झुठो हो भन्ने बुझी वा नबुझी सम्प्रेषित गरिएको भ्रामक सूचना वा जानकारीलाई मिथ्या सूचना भनिन्छ ।”
निर्वाचनसम्बन्धी रिपोर्टिङमा भएका सामान्य गल्तीबाहेक आफुलाई लाभ र अरू कसैलाई हानी पुर्याउने र आम मानिसलाई छकाउने बदनियतसाथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य दुष्प्रचार भएको आयोगले भनेको छ, “प्रत्यक्ष वा परोक्ष रूपमा जाति, धर्म, लैङ्गिकता, उमेर, अपाङ्गता वा अन्य अपरिवर्तनीय समूहलाई इङ्गित गर्दै असहिष्णुता वा घृणा फैलाउने वा हिंसालाई बढावा दिने किसिमका वचन, लिखत वा व्यवहारलाई द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पीच) मानिनेछ ।”

लुम्बिनी रिभ्यू