०२६ साल फागुनमा स्याङ्गजाको कालीण्डकी-२ मा जन्मिएका खेलराज पाण्डे तीन दशकदेखि बुटवलमा सक्रिय राजनीतिमा छन् । गठबन्धनबाट पाण्डे दोस्रो पटक मेयरका लागि चुनावी मैदानमा छन् । अघिल्लो चुनावमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेलाई कांग्रेसले फेरि मेयरको उम्मेदवार बनाएको हो । प्रस्तुत छ उम्मेदवार पाण्डेसंगको कुराकानी ।

दोस्रो पटक गठबन्धनबाटै मैदानमा उत्रिनुभएको छ, यसपालि जित्नेमा कत्तिको आशाबादी हुनुहुन्छ ?
पार्टीले अघिल्लोपटक पनि मलाई नै मेयरको उम्मेदवार बनाएको थियो । त्यतिबेला मैले अघि सारेका योजनाहरू अधुरा छन् । बुटवलवासीको धेरै माया स्नेह पाउँदापाउँदै पनि म विजयी हुन सकिनँ । मूल रूपमा सुकुम्बासी र अव्यवस्थितको समस्या समाधानका उपायहरू बुटवलको स्थानीय तहबाट गर्न सकिने अल्पकालीन योजना अपूरा छन् । दीर्घकालीन रूपमा त राष्ट्रिय भूमि आयोगबाट नै यसको टुंगो लाग्छ । यो बाहेक मेलमिलापका लागि सबै राजनीतिक दलहरू र संघसंस्थालाई एकै ठाउँमा राखेर मेलमिलापको नीतिअनुसार बुटवल उपमहानगरपालिका चलाउनुपर्छ भन्ने मेरो धारणा हो ।
अहिले बुटवल अन्य पालिकाभन्दा पछाडि पर्नुका कारण मेलमिलापमा कमी हुनु हो । राजनीतिक दल तथा नेतृत्वलाई उपेक्षा गरेर हामीले कुनै विकासका काम गर्न सक्दैनौँ । कार्यक्रम ल्याउन सक्दैनौँ । सबै राजनीतिक दल र नेतृत्वलाई सम्मानपूर्वक नगरपालिकाभित्र ल्याउने बाटो मैले बनाउनेछु । सबै संघसंस्थाको विज्ञता र अनुभवका आधारमा सल्लाह लिएर काम गर्नेछु । बुटवललाई सबैको साझा चौतारीका रूपमा विकास गर्नेछु । बुटवल उपमहानगरपालिका कसैको मात्रै उपमहानगर भएको छ, म सबैको साझा उपमहानगर बनाउनेछु ।
बुटवलमा अहिले धेरै समस्या देखिएका छन् । तिनाउ कोरिडोरका कारण कैयौँ घरपरिवार विस्थापित हुँदैछन् । विस्थापितहरूका लागि जग्गाको व्यवस्थापन र उनीहरूको घर बनाउन उपायको खोजीमा सबैको राय सुझावअनुसार लाग्नेछु । राष्ट्रपति चुरे संरक्षण समितिसँग मिलेर ज्योतिनगर पहिरोको व्यवस्थापनमा काम गर्नेछु । मोतिपुर औद्योगिक क्षेत्र, जुन अहिले विवादमा छ । त्यहाँको साढे २ सय बिघा जग्गा त्यहाँका स्थानीय जनताको हकवालालाई फिर्ता गराएर बाँकी रहेको साढे ७ सय बिघा जग्गामा स्मार्ट औद्योगिक क्षेत्रको निर्माण गर्ने प्रयास गर्नेछु ।
बुटवलको राजमार्ग चौराहादेखि चिडिया खोलासम्मको सडकले बुटवललाई गिज्याइरहेको छ । बाहिरका मानिस आउँदा बुटवलको पहिचानमा नै समस्या भएको छ । भाडामा बस्ने, व्यवसाय गर्नेलाई चुनौती थपिएको छ । यसलाई जसरी हुन्छ, कालोपत्रे गरेर धुवाँ र धुलोरहित बुटवलका लागि काम अगाडि बढाउनेछु ।
मैले मेलमिलापको नीतिलाई नै प्रमुख प्राथमिकता दिनेछु । सहमति, सहकार्य र एकताका लागि बुटवलका राजनीतिक दललाई सँगै राखेर सल्लाह लिएर काम गर्नेछु । त्यसैले योपटक मलाई बुटवलवासीले विजयी गराउनुहुनेछ भन्नेमा ढुक्क छु ।
पार्टीभित्रकाे असन्तुष्टि बाहिरिएकाे छ, कसरी अघि बढ्नुहुन्छ ?
पार्टीमा अहिले केही समस्या छैन । मभन्दा बढी समय दिएर खटेर यो चुनावमा कांग्रेसलाई जिताउन साथीहरू अभियानमा हिँड्नुभएको छ । जित र हारको प्रश्न हामीमाथि नै आउँछ भनेर सबै जना क्रियाशील भएर लागिरहनुभएको छ । त्यसैले असन्तुष्ट कोही पनि हुनुहुन्न ।
यहाँ एमालेकाे गढ भनिन्छ, कसरी जित्नुहुन्छ ?
सबैभन्दा पहिले त मलाई गृहमन्त्री बालकृष्ण खाँणको माया छ । सूर्यप्रसाद प्रधानको विरासत ममाथि छ । बुटवलवासीको माया र सद्भाव ममाथि छ । कसैले गढ भन्दैमा सधैँभरि त्यो सत्य नै हुन्छ भन्ने छैन । बुटवल नगरका हरेक नागरिक सचेत हुनुहुन्छ । बुटवल र बुटवलवासीका लागि यसअघि नेतृत्वमा पुगेको एमाले र तिनका जनप्रतिनिधिले केही गरेनन् । त्यो कुरा जनताले स्पष्ट बुझ्नुभएको छ । विगतमा झुटा आश्वासन बाँडेर उनीहरूले जनतालाई झुक्याएका हुन् । अब यहाँका नगरवासी कोही पनि कसैले झुक्याउँदैमा झुक्किनुहुन्न भन्ने कुरामा म विश्वस्त छु । मैले यो नगरपालिकालाई सबैको साझा नगरपालिका हो भन्ने अनुभूति गराउनेछु र चुनाव जित्नेछु ।
खास जित्ने आधार के हुन ?
म हिजो पनि जनताका सुखदुःखमा सँगै थिए, आज पनि छु र भोलि पनि रहनेछु । यो कुरा सबैले बुझ्नुभएको छ । विगतदेखि मेरो उहाँहरूसँग सुखदुःखमा भेटघाट भइरहन्छ । कुनै पनि व्यक्ति चुनावका बेला भेटिने र अरु बेला खोजेर नभेटिने पनि हुन सक्छन् । अरु बेला कताबाट हुन्छ आफू र आफ्नाका लागि सम्पत्ति कमाउने, कमाएर थन्क्याउने अनि निर्वाचन आएपछि बल्ल जनताको दैलो चहार्ने प्रवृत्ति सबैभन्दा घातक हो ।
नेता भनेको जनताको सेवक हो र हुनुपर्छ भन्ने मेरो मान्यता हो, चाहे त्यो पदमा हुँदा होस् या नहुँदा होस् । यहाँका जनताले यो कुरा राम्रोसँग बुझ्नुभएको छ र यसअघि जनप्रतिनिधि नहुँदा पनि मैले नगरवासीकै सेवामा समय बिताएको छु । यसपालि मलाई जिताएर जनप्रतिनिधि भएर अझ धेरै सेवा गर्ने मौका नगरवासीले दिनुहुनेछ भन्ने विश्वास छ । म तपाईंलाई परेको दुःखसुखमा घरआँगनमै पुगेर तपाईंसँग सधैँ भेटिएर तपाईंकै सेवा गर्न चाहने व्यक्तिलाई यसपालि अमूल्य मत दिएर नगरको नेतृत्व गर्ने मौका दिनुहुनेछ भन्ने विश्वास छ मलाई ।
जित्नुभयो भने पहिलो काम के गर्नुहुन्छ ?
मैले मेलमिलापको नीतिलाई अगाडि बढाएकाले सबैभन्दा पहिले विजयी भएसँगै बीपी, पुष्पलाल पार्क बनाएर सबै राजनीतिक दलहरू जम्मा हुने वातावरण बनाउँछु । खानेपानी, सडक, ढल निकास, फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यक्षेत्रमा महत्त्वपूर्ण काम गर्ने ठोस योजना बनाएको छु । एमालेले जस्तो झुटो आश्वासन म बाँड्दिनँ । म जे बोल्छु, त्यो गरेरै देखाउँछु । सुकुम्बासी समस्या तथा अव्यवस्थित बसोबासको समस्या निर्वाचित भएको एक वर्षभित्रै ठोस रूपमा समाधान गर्नेछु ।

लुम्बिनी रिभ्यू