बुटवल । टोलमा कोही विरामी भयो कि केही आपत विपत् । लैंगिक हिंसा भयो कि छिमेकीबीच विवाद । सुनवलमा धेरैले लिने नाम हो विमला दिदी । तिनै विमला दिदी अब मेयर विमला बनेकी छन् । जो नवलपरासी पश्चिमको सुनवल नगरपालिकाको नवनिर्वाचित प्रमुख विमला अर्याल हुन् ।
नेकपा एमालेका तर्फबाट विमलाले जितेसंगै नवलपरासी पश्चिमको सुनवल नगरपालिकाले महिला प्रमुख पाएको छ । नगरवासीका मुखमा झुण्डीएको विमला दिदी मेयर विमलामा परिणत भएको छ ।स्थानीयले नगरले दिदीको अभिभावकत्व पाएको अनुभव गरेका छन् । सुनवलका स्थानीय गोपाल भुसालले भने, ‘दिदी एमालेकी नेता मात्र होइन हामीसबैकी सुखदु:खकी दिदी हो । म पाटीगत रुपमा एमाले नभएर पनि दिदीको जीतमा उफ्रिएको छु ।’
विमलामा दलगत राजनीतिबाहेक स्थानीय खानेपानी तथा सरसफाइ संस्था, भूमी व्यवस्था आयोग लगायतका थुप्रै सामाजिक संघसस्थामा बसेको अनुभव छ । महिला भएकै कारण राजनीति देखि सामाजिक क्रियाकलापमा पछाडि परेको र थप मेहनत गर्नुपरेको भोगाइ छ । यही भोगाइलाई सफलतामा बदल्न उनले गरेको मेहनतलाई सुनवलवासीले सम्मान गरेको स्थानीयले बताए । ‘मेयर विमला दिदी उहा“ जानु नै महिलाका लागि गौरवको विषय बनेको छ।’
विमलाले १८ वर्ष सामुदायिक मेलमिलापकर्ताको भूमिका निभाएकी छन् । अर्थात् २०६० देखि सुनवलको सामुदायिक मेलमिलापकर्ताका रुपमा उनले धेरै विवादका घटनाको सहजीकरण गरेकी छन् । कतै मध्यस्तकर्ताको भूमिका निभाएकी छन्। सुनवल नगरपालिकामा खानेपानी वितरण र सरसफाइका गतिविधी गर्न खानेपानी सरसफाइ उपभोक्ता समिति छ । उनले उक्त संस्थामा ४ कार्यकाल सचिव भएर काम गरेकी छन्। थुप्रै सामाजिक संघसस्थामा काम गरेकी छिन् ।
सधै सामाजिक संस्थामा साझा काम गर्ने विमला मेयर बनेपछि पनि सबैको साझा बन्ने प्रयासमा छिन् । भौतिक विकाससंगै मानविय विकासलाई प्रमुख प्राथमिकतामा राख्ने विमलाले बताइन् । ‘हाम्रो नगरपालिका बालमैत्री बनेको छ । अब लैंगिकमैत्री बनाउन लैंगिक हिंसामुक्त नगरपालिका बनाउने छु,’ उनले भनिन् , ‘लैंगिक असमानता र विभेद विरुद्ध सचेतनाका कार्यक्रम संचालन गर्नेछु । हिंसा विरुद्ध सहज न्याय र पीडितका लागि पुर्नस्थापना गृह नाउने छु ।’ बालविकास बालसंरक्षणदेखि युवा रोजगारीकालागि सीप र व्यवसायमा समन्वय गर्ने उनको योजना छ । सबैकालागि स्वच्छ खानेपानीको ग्यारेन्टी गर्न ५ सय लिटर निशुल्क खानेपानी वितरण गर्ने धारो समेत जडान गर्न नसक्नेकालागि वडाको सिफारिसमा निशुल्क खानेपानीको धारो जडान गरिदिने उनको लक्ष्य छ । सामाजिक सुरक्षातर्फ ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी महिलालाई निशुल्क एम्बुलेन्स सेवा दिने योजना बनाएकी छन् । मातृशिशु संरक्षणका लागि सुत्केरीलाई निशुल्क पोषण उपलब्ध गराउने सोच छ । सामुदायिक विद्यालयमा लिने सबैखाले शुल्क हटाउने उनको उद्घोष छ । यी सबै कामका लागि राजश्व कहाबाट आउला त ? जवाफमा विमलाले भनिन्, ‘ धेरै नागरिक करको दायरामा जोडिएका छैनन् । तिनलाई जोड्नेछु । सार्वजनीक सम्पतिको सदुपयोग गर्नेछु । कर होइन करोको दर बढाएर राजश्व वृद्धि गर्ने र त्यसलाई मानविय विकासमा खर्चने योजना छ । ’
।
स्याङ्जाको मालुंगामा जन्मेकी विमला नवलपरासीमै हुर्केकी हुन् । सुनवलका पदमराज अर्यालसंग विवाह गरेकी उनका दुइ छोरा छन् । विमलाले औपचारिक रुपमा एसएलसीसम्मको अध्ययन गरिन् । त्यसपछि सामाजिक क्रियाकलाप र राजनीति थालिन् । २०५० सालमा पाटी सदस्य बनेकी उनी अखिल नेपाल संघ र पाटीको वडादेखि जिल्ला हुदै केन्द्रसम्म पुगेकी छन् । अनेमसंघ नवलपरासीको २ कार्यकाल अध्यक्ष समेत बनिन् । अहिले अनेमसंघ केन्द्रीय सचिवालय सदस्य हुन् । एमालेको पाटीतर्फ वडा, नगरपालिका, जिल्ला हुदै अहिले केन्द्रीय सदस्य बनेकी छन् । यसअघि जिल्लाको कार्यालय सदस्यसमेत थिइन् ।
गठबन्धनलाई पराजित गर्दै एमालेबाट प्रमुख पद जितेकी विमला यसअघिको निर्वाचनमा समेत एमालेबाट नगरप्रमुखमा उमेदवार बनेकी थिइन् । त्यसबेला भने नेपाली कांग्रेसका भिमबहादुर थापास“ग पराजित भएकी थिईन् । अघिल्लो निर्वाचनमा हार बेहोरेपछिको ५ वर्ष उनी राजनीतिक क्रियाकलाप र सामाजिक काममा अझ बढी सक्रिय बनिन् । जसको फलस्वरुप यसपटक विजय प्राप्त गरिन् । गठबन्धनबाट नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका अर्जुनकुमार पोखरेललाई ३ हजार २ सय १८ मत अन्तरले पराजित गरेकी अर्यालले १४ हजार ८३८ मत ल्याइन् । ‘मेरो काम देखेर हाम्रो सुखदु:खमा साथ दिने विमला दिदीले नगर सम्हाल्नुपर्छ भनेर पाटी इतरका धेरै मतदाताले पनि भोट दिनुभयो,’ उनले भनिन् , ‘अब उहाहरुको अपेक्षा मर्न नदिनेगरी काम गरेर देखाउने छु । ’

लुम्बिनी रिभ्यू