
बुटवल । भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने निर्णयमा हस्ताक्षर गर्दै बुटवल उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख खेलराज पाण्डेले सोमबार पदभार ग्रहण गरेका छन् । निर्णयमा बुटवलको प्रमुख समस्याका रूपमा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई जतिसक्दो छिटो लालपुर्जा उपलब्ध गराउने उल्लेख छ । पदभार ग्रहणकालागि नगरप्रमुखको कोठामा पूजापाठसहित सस्वर मन्त्र उच्चारण गरिएको थियो ।
उपप्रमुख सावित्रादेवी अर्यालले भने बजार अनुगमनलाई प्रभावकारी बनाउने निर्णयमा हस्ताक्षर गर्दै पदभार ग्रहण गरेकी छन् । निर्णयमा उपभोग्य वस्तुको गुणस्तर तथा मूल्यवृद्धिलाई नियन्त्रण गर्न बजार नियमित रूपमा बजार अनुगमन गरिने र त्यसलाई प्रभावकारी बनाइने उल्लेख छ ।
निर्वाचित नगर प्रमुख र उपप्रमुखले एकै पटक पदभार ग्रहण गरेपनि अलग–अलग निर्णयमा हस्ताक्षर गरेका हुन्। बुटवलमा प्रमुखमा कांग्रेसबाट र उपप्रमुखमा एमालेबाट प्रतिनिधित्व गरेका छन् ।
सोमबार नगर प्रमुख र उपप्रमुखस“गै वडा अध्यक्ष तथा सदस्यहरूको समेत सपथ ग्रहण र पदभार भएको छ । नगर प्रमुख पाण्डेलाई जिल्ला निर्वाचन कार्यालय रूपन्देहीले भैरहवामा सपथ ग्रहण गराएको थियो । ततपश्चात् प्रमुखले उपमहानगरपालिकामा एक समारोहको आयोजना गरी उपप्रमुखसहित अन्यलाई सपथग्रहण गराएका थिए । पदभार ग्रहणपछि बोल्दै नगरप्रमुख पाण्डेले सबै राजनीतिक दलहरूको सुझाव र सल्लाहलाई लिएर जनताको मन जित्ने गरी बुटवलको साझा विकासमा लाग्ने प्रतिबद्धता जनाए । उनले सुकुम्वासी समस्या समाधान गर्ने प्रतिवद्धता दोहोराए ।

लुम्बिनी रिभ्यू