तौलिहवा। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले जनताको सबैभन्दा तल्लो तहको सरकार स्थानीय तह भएकाले जनताको सुख, दुःखमा साथ दिनु पर्ने बताउनुभएको छ।
कपिलवस्तुको चन्द्रौटामा लुम्बिनी प्रदेश सरकारले आयोजना गरेको लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका जनप्रतिनिधिलाई बधाई तथा शुभकामना एवं शासन सञ्चालन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले प्रदेशका सबै स्थानीय तहलाई समन्वय गरेर लुम्बिनी प्रदेशका जनताको जीवनस्तरलाई परिवर्तन गर्नका लागि अनुरोध गर्नुभयो। आम जनतालाई सेवा प्रवाह गर्नका लागि जनताको मागका आधारमा काम गर्नुपर्ने उहाँले बताउनुभयो।
लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले समृद्ध लुम्बिनी निर्माणका लागि लुम्बिनी प्रदेश भित्रका स्थानीय तहका जनप्रतिनिधिले लाग्नु पर्ने बताउनुभयो।
संविधानको पूर्ण पालना गर्दै जनताको सेवा गर्नु सबै स्थानीय तहका जनप्रतिनिधिको दायित्व भएको उहाँले बताउनुभयो।
कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती, भौतिक पूर्वधार विकासमन्त्री सहसराम यादव, संघीयता विज्ञ खिमलाल देवकोटालगायत स्थानीय तहका प्रमुख र उपप्रमुखको सहभागिता थियो। कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय लुम्बिनी प्रदेशको आयोजनामा भएको हो।

लुम्बिनी रिभ्यू