• Saturday 25th July 2026

एकेडेमीका केन्द्रीय बिभागहरु गठन,खेलाडी र परिवारको उपचारमा भारी सहुलियतको संझौता,खेल प्रतियोगिताहरु घोषणा

एकेडेमीका केन्द्रीय बिभागहरु गठन,खेलाडी र परिवारको उपचारमा भारी सहुलियतको संझौता,खेल प्रतियोगिताहरु घोषणा


  • लुम्बिनी रिभ्यू

 

तस्बीरहरू दीप कदम

काठमाडौँ । संगठन बिस्तारलाई तीब्रता दिइरहेको मदन भण्डारी स्पोर्टस एकेडेमीले बिभिन्न केन्द्रीय बिभागहरु गठन गरेको छ । शनिबार काठमाण्डौमा आयोजित बिशेष समारोहमा बिभागहरु गठनसंगै खेलाडी र उनका परिवारका सदस्यहरुको स्वास्थ्य उपचारमा भारी सहुलियतको संझौता भयो । त्यस्तै मदन जयन्तीका सन्दर्भमा बिभिन्न स्तरका बिभिन्न खेल प्रतियोगिताहरुको मिति समेत घोषणा भयो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य,पूर्बमन्त्री तथा एकेडेमीका केन्द्रीय सल्लाहकार मणिचन्द्र थापाले राजनीतिलाई सही दिशामा लैजान खेल क्षेत्र र खेलाडीहरुले सकृय भुमिका खेल्नुपर्ने बताउनुभयो ।
खेलले जीवन,जगत र राजनीतिमा ठूलो प्रभाव पार्ने बताउदै उहाँले राजनैतिक अस्थिरताले खेल क्षेत्र पनि अस्थिर बन्ने गरेको चर्चा गर्नुभयो ।
समाजका हरेक क्षेत्रका मदन भण्डारीका बिचारको प्रभाव र योगदान बिर्सिन नसकिने चर्चा गर्दै उहाँले उहाँकै नामबाट स्थापित एकेडेमीले नाम अनुसारको काम गर्ने बिश्वास ब्यक्त गर्नुभयो ।
एकेडेमीका संस्थापक अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका निवर्तमान सदस्य सचिब रमेश सिलवालले खेलकुद क्षेत्रबारे राजनैतिक दलहरुले स्पष्ट दृष्टिकोण बनाउनुपर्ने बताउनुभयो ।
उहाँले खेलकुदमा राजनीति गर्न नहुने तर भइरहेको बताउदै खेलाडीहरुले राजनीति भने बुझ्नु पर्ने चर्चा गर्नुभयो । दलहरुले चुनावमा मात्र खेल क्षेत्रका एजेण्डा उठाउने तर अरु बेला बिर्सिने गरेको चर्चा गर्दै उहाँले एमाले सरकारमा रहँदा खेल क्षेत्रको बिकासमा उल्लेख्य काम भएको बताउनुभयो ।
अध्यक्षको आसनबाट बोल्दै एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुब आचार्यले एकेडेमीको घोषित नीति र लक्ष्य अनुसार तीब्र गतिमा काम भइरहेको बताउनुभयो । उहाँले संगठन बिस्तारसंगै खेल प्रतियोगिता र खेल शिक्षा अभियानलाई योजनाबद्ध तरिकाले अघि बढाएको बताउनुभयो ।

सो अवसरमा एकेडेमीका उपमहासचिव सुवर्ण श्रेष्ठ,सचिब डा.शक्ति बस्नेत,डा.सुमन श्रेष्ठ लगायतले बोल्नु भएको थियो ।

स्वास्थ्य उपचारमा भारी सहुलियतको संझौता


एकेडेमीमा आवद्ध खेल अगुवा,खेलाडी र उनका परिवारको उपचारमा भारी सहुलियत हुने भएको छ । यसबारे एकेडेमी र काठमाडौस्थित नेपाल नेश्नल हस्पिटलविच पाँच बर्षका लागि ६ बूँदै संझौता भएको छ ।
सहकार्य र संझौतामा अस्पतालका मेडिकल डाइरेक्टर डा.प्रकाश पौडेल र एकेडेमीका अध्यक्ष आचार्यले हस्ताक्षर गर्नुभयो ।
डा.पौडेलले संझौताको मितिदेखि नै हरेक प्रकारका उपचारमा २५ प्रतिशतसम्म छुट,एम्बुलेन्स र ओपिडी निःशुल्क हुने जानकारी गराउनुभयो । खेलाडीहरुको सम्मानका लागि यस्तो शुरुवात गरिएको बताउदै उहाँले दुबै संस्था मिलेर थप काम गर्ने जानकारी गराउनुभयो ।
एकेडेमीका अध्यक्ष आचार्यले अस्पताललाई धन्यवाद ज्ञापन गर्दै सहकार्यलाई थप मजबुद बनाउदै लैजाने बताउनुभयो ।

बिभागहरु गठन


एकेडेमीले थप छ वटा केन्द्रिय बिभागहरु गठन गरेको छ । शनिबार गठन र बिस्तार भएका बिभागहरुमा शारीरिक सुगठन,भलिबल, रेस्लिंग, पावर लिफ्टिंग, टेबुल टेनिस र फूल कन्ट्याक्ट रहेका छन् ।

खेल प्रतियोगिताहरुको मिति घोषणा


एकेडेमीले मदन जयन्ती (असार १४)का अवसरमा एक महिनासम्म बिभिन्न खेल प्रतियोगिताहरुको मिति घोषणा गरेको छ ।
अध्यक्ष आचार्यले बिभिन्न मितिमा काठमाण्डौ,झापा,बुटवल लगायतका स्थानहरुमा क्रिकेट,भलिबल,रेस्लिंग,बास्केट बल,तेक्वान्दो लगायतका प्रतियोगिता र प्रशिक्षक तालीम हुने जानकारी गराउनु भयो ।
ती प्रतियोगिता असार ३ देखि २२ गतेसम्म सञ्चालन हुनेछन् ।

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend