• Saturday 25th July 2026

बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी : चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर

बुटवलमा चियाको राष्ट्रिय प्रदर्शनी : चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर


  • लुम्बिनी रिभ्यू

बुटवल । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले नेपाली चियाको आन्तरिक बजार प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा पहिलोपटक चियाको राष्ट्रिय प्रदर्शनी तथा टि टेस्टिङ कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नेपालमै उत्पादित चिया खाने प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै उद्घाटन गर्नुभयो । प्रदर्शनीमा चिया उत्पादन तथा बजारीकरणमा लामो समयदेखि नेपालमा काम गर्दै आएका निजी क्षेत्रका नेपाल टि एशोसिएशन, हिमालयन अर्थोडक्समा टि प्रोड्युसर एशोसिएशन नेपाल, नेपाल टि प्रोड्युसर एशोसिएशन, केन्द्रीय चिया सहकारी सङ्घ, स्पेसियालिटी टि एशोसिएशन नेपालमा आबद्ध चिया १०० बढी व्यवसायीबाट उत्पादित चियाका ब्राण्ड राखिएका छन् ।

मुख्यमन्त्री केसीले स्वदेशी उत्पादनको प्रवद्र्धनका लागि प्रदेश सरकार जग्गा उपलब्ध गराउन तयार रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारले स्वदेशी उत्पादन मात्र प्रयोग गर्ने नीति लिएको उल्लेख गर्दै मुख्यमन्त्री केसीले यसबाट विदेशी उत्पादन निरुत्साहित गर्न सकिने बताउनुभयो । उहाँले व्यवसायीलाई लुम्बिनी प्रदेशको गुल्मीलगायतका जिल्लामा उत्पादीत कफीको प्रवद्र्धन र बजारीकरणका लागि लाग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले नेपाली उत्पादन नेपालमा खपत भएर आर्थिकरुपमा सबल हुनसक्ने सम्भावना रहेको बताउनुभयो । उहाँले विजनेश हबका रुपमा बुटवललाई चिनाउन पनि कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

नेपाली चियाको गुणस्तर र स्वादका हिसाबले विश्वमै उत्कृष्ट मानिन्छ । आव २०७७÷२०७८ मा नेपालले रु तीन अर्ब ७९ करोड मूल्य बराबरको चिया निर्यात गरेको छ । यस्तै, आव २०७७÷२०७८ मा नेपालमा १६ हजार ९१७ हेक्टरमा चिया रोपिएकोमा २३ हजार ७४५ मेट्रिक टन तयारी चिया उत्पादन भएको थियो । कूल १६ हजार बढी चिया कृषक र ६० हजारभन्दा बढी श्रमिक चियाको विभिन्न मूल्य शृङ्खलामा संलग्न रहेका छन । प्रदर्शनीमा ३० वटा स्टल राखिएका छन् । रासस

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend