• Saturday 25th July 2026

१८ वर्षदेखि पानी चुहिन्छ मायादेवी मन्दिरमा

१८ वर्षदेखि पानी चुहिन्छ मायादेवी मन्दिरमा

पानी चुहिँदा मन्दिरभित्रका पुरातात्विक र ऐतिहासिक सम्पदालाई असर पारेको छ ।


  • लुम्बिनी रिभ्यू

भैरहवा। छतबाट पानी चुहिन थालेपछि लुम्बिनीस्थित मायादेवी मन्दिर मर्मत तथा संरक्षणको काम अघि बढाइने भएको छ । लुम्बिनी विकास कोष, पुरातत्व विभाग, विश्व सम्पदा शाखाका पदाधिकारी एवं प्राविधिकसहितको टोलीले संरक्षणको काम कसरी गर्ने भन्नेबारेमा स्थलगत अनुगमन गरेका छन् ।

लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले पानी चुहिएर मन्दिरभित्र रहेका पुरातात्विक सम्पदालाई असर पारेको बारेमा कोषलगायत सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण भएकाले संरक्षणको प्रक्रिया तत्काल अघि बढाइने बताउनुभयो ।

“मन्दिरको छतबाट पानी चुहिने समस्या निराकरणका लागि संरक्षण तथा मर्मतको कार्य तुरुन्तै टुङ्गो लगाउँदै छौँ”–उहाँले भन्नुभयो–“मन्दिरको मर्मत तथा संरक्षणको कार्य केही वर्षअगाडि नै थाल्ने योजना रहे पनि कोरोना संक्रमण र बन्दाबन्दीका कारण ढिलाइ भएको हो ।”

मन्दिरको मर्मत र संरक्षणका लागि थाइल्यान्डको बुद्धिष्ट संस्था थाइपुङ थाई तीन वर्षपहिले नै तयार भएको शाक्यले बताउनुभयो । मन्दिरको मर्मत र संरक्षणका लागि लाग्ने सम्पूर्ण खर्च उसले व्यहोर्ने गरी डिजाइनसहितको प्रस्ताव ०७६ सालमै लुम्बिनी विकास कोषलाई पठाएको थियो ।

“उक्त संस्थाले आफू बौद्ध धर्मावलम्बी भएको नाताले लुम्बिनीजस्तो पवित्र स्थानमा मन्दिरको संरक्षण कार्य गर्न पाउनुलाई ठूलो अवसरका रूपमा लिएको छ”– विकास कोषका सदस्यसचिव शाक्यले भन्नुभयो–“पछिल्लोपटक उक्त संस्थाका तर्फबाट मन्दिर संरक्षणको कार्य गर्नका लागि कार्ययोजनासहितको पत्र कोषलाई प्राप्त भएको छ ।”

थाइपुङ थाईले पठाएको कार्ययोजना पत्रमा अगस्त महिनादेखि डिसेम्बरभित्र सम्पन्न गर्ने र पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषलगायतका निकायको मापदण्डलाई पालना गरी काम गर्ने उल्लेख छ । अहिले तत्काल काम गर्दा वर्षायाम भएको र वर्षाले पुरातात्विक सम्पदामाथि झन् असर पार्न सक्ने सम्भावना भएकाले अगस्तदेखि मर्मत थाल्ने उसको भनाइ छ ।

लुम्बिनीस्थित मायादेवी मन्दिर विगत १८ वर्षदेखि चुहिन थालेको हो । नेपाल सरकार र लुम्बिनी विकास कोषको साढे छ करोड रुपियाँ लागतमा पुनःनिर्माण गरिएको मायादेवी मन्दिरको डिजाइन युनेस्को, पुरातत्व विभाग र विश्व सम्पदा केन्द्रले तयार पारेको मापदण्डलाई पालना गर्दै नेपाल इन्जिनियरिङ संस्थान, कन्सल्टेन्सी सेवा पुल्चोकले तयार गरेको थियो ।

२०६० सालमा पुनःनिर्माण भएको उक्त मन्दिरको छत निर्माण भएको केही वर्षपछि नै चुहिन थालेको हो । पानी चुहिँदा मन्दिरभित्रका पुरातात्विक र ऐतिहासिक सम्पदालाई असर पारेको छ ।

मायादेवी मन्दिरभित्र तत्कालीन सम्राट अशोकले वर्षौंअघि व्यवस्थित रूपमा राख्न लगाएको बुद्ध जन्मस्मृति शिला (मार्कर स्टोन), बुद्धकालभन्दा पहिला ईसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीकालका इँटाका भग्नावशेष, बुद्धलाई जन्मदिने अवस्थाको मायादेवीको मूर्तिलगायत छन् ।

मन्दिरको छत अड्याउनका लागि प्रयोग गरिएका फलामे बिममा अहिले खिया लागेको लुम्बिनी विकास कोषका प्रशासन शाखा प्रमुख ज्ञानिन राईले बताउनुभयो ।

ती  बिमहरू जीर्ण भएको र छत नै भत्किने खतरा बढेकाले अबको संरक्षण कार्य गरिँदा त्यसबारेमा पनि छलफल हुने उहाँले बताउनुभयो । “लुम्बिनीमा देखाउनेभन्दा जोगाउने काम मुख्य हो”–उहाँले भन्नुभयो–“अबको मायादेवी मन्दिरको डिजाइन बनाइँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विज्ञ राखेर सबै सरोकारवाला निकायको आम सहमति जुटाउन जरुरी छ ।” (लक्ष्मण पौडेलले लेखेको याे समाचार गाेरखापत्र अनलाइनमा छापिएकाे छ ।)

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend