बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न दलिय विवाद साम्य भएको छ । प्रमुख उपप्रमुखसहितका नगरसभा सदस्यहरु मिलेर चालु आर्थिक वर्षको बजेट पारित गरेका छन् । तर, नगरसभाकै विषयमा जनप्रतिनिधि र पत्रकारहरुबीचको विवाद भने बढ्दै गएको छ ।

आइतबार नगरसभामा पत्रकार यमलाल भुसाल र रेखा भुसालले दुव्र्यवहार भएको बताएपछि पत्रकार सम्बद्ध संघसस्थाले विज्ञप्ती निकालेर विरोध गरेका छन् । पत्रकार महासंघ रुपन्देही र प्रेस युनियन रुपन्देहीले मंगलबार विज्ञप्ती निकाल्दै पत्रकारमाथि गरिएको व्यवहारको विरोध गरेका थिए । महासंघका अध्यक्ष रामराज पोखरेल र सचिव विनोद परियारद्धारा हस्ताक्षरित विज्ञप्तीमा जनप्रतिनिधिबाटै स्वतन्त्र प्रेस र अभिव्यक्रि स्वतन्त्रतामाथि हस्तक्षेप भएको उल्लेख गरेको छ । उता युनियनमा कार्यबहाक सचिव कल्पना तिवारीद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रेस युनियनले आरोप पुष्टि गर्न चुनौति समेत दिएको थियो ।

बुधबार उपप्रमुख जगेश्वरीदेवी चौधरीले पनि त्यस्तै चुनौति दिदै विज्ञप्ती निकालेकी छन् । सरकारी कागजात झोलामा राखेर हिंडेकाले खानतलासी गरेको दाबी गर्दै सरकारी कागजात लुकाएर हिड्नुको कारण पुष्टि गर्नुपर्ने बताएकी छन् । उनले तिलोत्तमा नगरपालिकाको नगरसभामा उत्पन्न विवादका सन्दर्भलाई लिएर नेपाल पत्रकार महासंघ रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्तिप्रति पनि गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् ।
उनले पत्रकारले नगरपालिकाको नगरसभाको माइन्युट झोलामा लिएर हिँडेको देखेपछि माग्दा नदिएका कारण झोला खोलेर माइन्युट लिएको विषयलाई दुव्र्यवहार भयो भनेर अतिरञ्जित गर्नु गलत भएको टिप्पणी गरेकी छन् ।“साउन १ गते आइतबार तिलोत्तमा नगरपालिकाको नगरसभा आयोजना गरिएको थियो । केही दिनदेखि विवादका कारण स्थगित हुंदै आएको नगरसभा त्यसदिन पनि विवादका कारण अगाडि बढ्न सकेन । जुन माइन्यूटका कारणले विवाद उत्पन्न भई नगरसभा स्थगित हुंदै आएको थियो, सोही माइन्यूट लुकाउने नियत देखेपछि हामीले त्यसको निगरानी गरिरहेका थियौं । निगरानीकै क्रममा नगरसभाभित्र रहनुभएका राज्य टेलिभिजनमा कार्यरत पत्रकार यमलाल भुसालले उक्त माइन्युट झोलामा राख्नुभएको हामीले देखेका थियौं”, विज्ञप्तिमा उल्लेख छ ।

नगरसभा स्थगित भएपछि मूल ढोकामा बसेर पत्रकार भुसालसंग झोलाभित्र राखिएको उक्त माइन्यूट दिन आग्रह गर्दा झोलाभित्र केही पनि छैन भन्दै झोला खोल्न आनाकानी गरेपनि अन्ततः उक्त झोलामै माइन्यूट भेटिएको उपप्रमुख चौधरीले दाबी गरेकी छन् ।
विज्ञप्तिमा भनिएको छ , “तथापि पत्रकार यमलाल भुसालले उक्त झोला आफ्नो नभएर पत्रकार रेखा भुसालको भएको बताउनुभएको थियो । हामीले झोला जसको भएपनि यसमा हाम्रो माइन्यूट छ भन्ने दावी गर्यौं र माइन्यूट भेटाएर लियौं ।”
उनले पत्रकारलाई दुव्र्यवहार र अभद्र व्यवहार गरेको भए कारवाही भोग्न तयार रहेको जनाउँँदै पत्रकार आचारसंहिताको उल्लंघन गर्नेहरुमाथि आबश्यक कारवाहीका लागि पत्रकार महासंघसँँग माग गरेकी छन् ।
पत्रकारद्धय भुसालले भने उक्त झोला भुलवश समातिएको बताएका छन् । मंगलबार पत्रकार महासंघमा आएका उनीहरुले घटनालाई अतिरञ्जीत गरिएको बताए ।

लुम्बिनी रिभ्यू