
काठमाडौं । त्यही बेला झमझम पानी दर्कियाे, जति बेला नेकपा (एमाले) ले महंगी र भ्रष्टाचारको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनको समय ताेकेकाे थियाे । र,पनि खाँटी प्रदर्शनकारीहरु झरीको सामना गर्दै प्रदर्शन गरिरहे ।

ठूलो झरीको प्रतिकूल मौसमका बीच हजारौं मानिसको सहभागिता रहेको एमाले नेताहरूकाे ठहर छ । जनप्रदर्शन वसन्तपुरबाट शुरू भई भित्री शहरका प्याफल, नरदेवी, टेंगल, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै शान्तिवाटिकामा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो ।

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनवटै जिल्ला कमिटी, बाग्मती प्रदेश संगठन कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र पार्टीका २२ जनसंगठन, सम्पर्क समन्वय कमिटी, पार्टीका केन्द्रीय निकाय तथा विभागका सदस्यहरूको सहभागिता रहेको थियो ।

जनप्रदर्शनमा महंगी नियन्त्रण गर्, खाद्यवस्तुमा भएको चर्को मूल्यवृद्धि नियन्त्रण गर्, भ्रष्टाचार नियन्त्रण गर्, नागरिकतामा विधेयक खारेज गर्, रासायनिक मलको व्यवस्था गर्, उपभोक्तालाई राहत देउ लगायतका नारा लगाइएको थियो ।
जनप्रदर्शनको समापनमा सम्बोधन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको वताउनुभयाे ।
पोखरेलले भन्नुभयो–परमादेशी गठबन्धन सरकार गठन भएयता मुलुकको अर्थतन्त्र ओरालो यात्रामा रहेको छ । सबै आर्थिक सूचक नकारात्मक रहेका छन् । मुद्रास्फिति ८.५ प्रतिशतमा पुगेको छ । व्यापार घाटा बढ्दो छ । यही सरकार कायम रहे मुलुक एकदिन श्रीलंकाको अवस्थामा पुग्ने छ ।
महासचिव पोखरेलले देशको रक्षा गर्ने जिम्मेवारी एमालेको काँधमा रहेको र त्यसका लागि पार्टी सक्षम रहेको वताउनुभयो ।


लुम्बिनी रिभ्यू