• Saturday 25th July 2026

सुरज वैद्यकाे रिसोर्ट अनुमति खारेज : जीवनरामले उल्ट्याए प्रेम आलेको निर्णय

सुरज वैद्यकाे रिसोर्ट अनुमति खारेज : जीवनरामले उल्ट्याए प्रेम आलेको निर्णय

आफ्नै पार्टीका पूर्व मन्त्री प्रेम आले नेतृत्वमा भएको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठले खारेज गरिदिए


  • लुम्बिनी रिभ्यू

काठमाडाैँ । आफ्नै पार्टीका पूर्व मन्त्री प्रेम आले नेतृत्वमा भएको निर्णय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठले खारेज गरिदिएका छन् ।

मन्त्री श्रेष्ठको अध्यक्षतामा मङ्गलवार बसेको लुम्बिनी विकास कोष परिषद् बैठकले लुम्बिनी विकास गुरूयोजना विपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा मंगलवार बसेको परिषद् बैठकले क्याम्पेन ग्राउन्डको जग्गा निजी कम्पनीलाई दिने गत वैशाख १९ गतेको निर्णय खारेज गरेको हो ।

गुरूयोजनाविपरीत ‘क्याम्पेन ग्राउन्ड’ मा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यले बताए ।

संस्कृति, नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेमकुमार आलेको दबाबमा ‘संसारा वेलनेस’ नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिने निर्णय भएपछि यसबारे नेपाल प्रेसमा समाचार प्रकाशन भएको थियो । पर्यटन मन्त्री आले लुम्बिनी विकास कोषका अध्यक्ष हुन्छन् ।

संसारा वेलनेस कम्पनी उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यको कम्पनी हो । वैद्य आफूले लुम्बिनी विकास कोषको उपाध्यक्ष रहँदैदेखि लुम्बिनीभित्र होटेल बनाउने योजना तयार गरे पनि त्यो टुंगो लागेको थिएन । संसारा वेलनेसले लुम्बिनीग्रामस्थित श्रीलंकाको पिलग्रिमेज हाउससँग जोडिएको क्याम्पियन ग्राउन्डको जग्गा रिसोर्ट सञ्चालनका लागि उपलब्ध गराउन लुम्बिनी विकास कोषसामु प्रस्ताव गरेको थियो ।

जापनिज वास्तुविद् प्रोफेसर केन्जो टांगेले बनाएको लुम्बिनी विकास गुरुयोजनामा चार बिगाहा क्षेत्रफलमा फैलिएको क्याम्पियन ग्राउन्डमा आठ/नौ वटा कोठा, खुल्ला स्थान, शौचालय, क्याम्प फायर र पिकनिक स्पट राख्ने उल्लेख छ ।

संसारा वेलनेसले पेस गरेको प्रस्तावमा भने ध्यान गर्न आउने पाहुनाका लागि रिसोर्ट सञ्चालन गर्ने भनिएको थियो । लुम्बिनी विकास गुरुयोजनामा लुम्बिनी ग्राममा स्वदेशी तथा विदेशी पाहुनाको उच्चस्तरीय आवासका लागि तीन वटा मात्रै होटेल सञ्चालन गर्ने उल्लेख छ । त्यसैअनुसार होक्के होटेल, होटेल कासाइ र श्रीलंकाको पिलग्रिमेज हाउस यसअघि नै सञ्चालन भइसकेका छन् ।

यो विषय सार्वजनिक भएपछि मन्त्री आलेको आलोचना भएको थियो । लुम्बिनी विकास कोषका अन्य पदाधिकारी तथा पर्यटन व्यवसायीको विरोध भएको अवस्थामा मन्त्री जीवनरामले बोल्ड निर्णय गरेको भन्दै पर्यटन व्यवसायी खुसी भएका छन् ।

बजेट पास 

मंगलबारको बैठकले सदस्यसचिव सानुराजा शाक्यले पेश गरेको आगामी वर्षको नीति तथा कार्यक्रम र कोषाध्यक्ष ढुण्डिराज भट्टराईले पेश गरेको बजेट पास गरेको छ ।

त्यसैगरी प्राचीन कपिलवस्तु राज्यको राजधानी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा मनोनयनका लागि रणनीतिक मनोनयन दस्ताबेज (Strategic Nomination Document) तयार गर्नका लागि अन्तर्राष्ट्रिय विज्ञ डङ्कन मार्शल अस्ट्रेलियालाई छनौट गर्ने र लुम्बिनी विकास कोषको आयोजनामा नोभेम्बर २०२२ मा लुम्बिनीमा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्ने निर्णय भएको सदस्यसचिव शाक्यले जानकारी दिए ।

परिषद् बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय पनि गरेको छ । बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरेको हो ।

लुम्बिनी जाने पर्यटकहरूलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले जानकारी दिए ।

बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने र विभिन्न बौद्ध स्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने निर्णय गरेको छ । (रामप्रसाद आचार्यले लेखेकाे याे समाचार नेपाल  प्रेस डटकममा छापएिको छ ।)

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend