• Saturday 25th July 2026

एमाले लुम्बिनी : सबै जिल्लामा प्रशिक्षणकाे तयारी

एमाले लुम्बिनी : सबै जिल्लामा प्रशिक्षणकाे तयारी


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीले पार्टी केन्द्रको निर्देशनअनुसार साउन २० र २१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेपछि सबै जिल्लास्तरीय प्रशिक्षणका लागि मिति तय गरेर तयारी गरेको छ ।
सबै जिल्लामा पार्टी पदाधिकारी तथा अन्य शीर्ष नेतृत्वलाई सहभागिता गराएर जिल्ला तहमा रहेका अगुवा नेताहरूलाई प्रशिक्षणको तयारी गरिएको हो ।
कार्यक्रममा भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनको आन्तरिक समीक्षा, नेतृत्व र कार्यकर्ताको समन्वयबारे छलफल, आगामी निर्वाचनको रणनीतिक तयारी तथा जिल्ला तहमा हुने विभागीय जिम्मेवारीका विषयमा गम्भीर छलफल हुनेछ ।
प्रदेशस्तरीय प्रशिक्षणपछि रुपन्देहीमा २२ गते यसखालको कार्यक्रम सकिएको जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताउनुभयो । रुपन्देहीमा भएको प्रशिक्षणमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली तथा रुपन्देहीबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने सबै नेताहरूको सहभागिता रहेको थियो ।
प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेका अनुसार नवलपरासीमा २८ गते यसखालको प्रशिक्षण तयारी गरिएको छ । त्यहाँ उपमहासचिव प्रदीप ज्ञवाली नेताहरू लीला गिरी, सरिता खनाल, राधाकृष्ण कंडेलले प्रशिक्षण दिनुहुनेछ । साउन २८ गते नै पाल्पामा हुने प्रशिक्षणमा केन्द्रीय सचिवद्वय गोकर्ण विष्ट र छविलाल विश्वकर्मा , नेताहरू दलबहादुर राना, ठाकुर गैरेलगायत सहभागी हुने कार्यक्रम तय भएको छ ।
गुल्मीमा २९ गते तय गरिएको प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेताहरू दिनेश पन्थी, राधाकृष्ण कंडेल सहभागी हुनुहुनेछ भने कपिलवस्तुमा पनि २९ गते नै यो कार्यक्रम हुने भएको छ । त्यहाँ उपाध्यक्ष सुवास नेम्वाङ, नेताहरू विमला घिमिरे, खिमलाल भट्टराई, विष्णु पन्थीलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।
अर्घाखाँचीमा साउन ३० गते प्रशिक्षणको तयारी गरिएको छ । त्यहाँ उपाध्यक्ष सुवास नेम्वाङ, सचिवद्वय टोपबहादुर रायमाझी, गोकर्ण विष्ट तथा नेताहरू चन्द्रबहादुर खड्का, बमबहादुर बिक, चेतनारायण आचार्यले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।
पूर्वीरुकुममा ३० गते तय गरिएको प्रशिक्षणमा उपमहाचिव प्रदीप ज्ञवाली, नेताहरू खेममान खड्का, राधाकृष्ण कंडेल सहभागी हुनुहुनेछ भने सोही दिन दाङमा गरिने कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव छविलाल विश्वकर्मा, नेता नरुलाल चौधरीलगायतले प्रशिक्षण दिनुहुने छ ।
बाँकेमा ३१ गते तय गरिएको कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव छविलाल विश्वकर्मा तथा नेताहरू लीला गिरी, लक्ष्मण ज्ञवाली, सूर्य ढकालले प्रशिक्षण दिनुहुने भएको छ । प्युठानमा पनि ३१ गते उपाध्यक्ष सुवास नेम्वाङ, सचिव टोपबहादुर रायमाझी, नेताहरू सूर्य थापा, बिमला घिमिरे, खिमलाल भट्टराईले सम्बोधन गर्नुहुने छ ।
त्यसैगरी बर्दियामा भदौ १ गते सचिव छविलाल विश्वकर्मा तथा नेताहरू लीला गिरी, लक्ष्मण ज्ञवाली र रोल्पामा पनि  भदौ १ गते सचिव टोपबहादुर रायमाझी तथा नेताहरू खिमलाल भट्टराई, नबिन रोकाले प्रशिक्षण दिने कार्यक्रम तय गरी तयारी गरिएको एमाले लुम्बिनी प्रदेश कमिटीले जनाएको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend