बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले विचार, दृष्टिकोण, नीति कार्यक्रमसहित जनतासामु जाँदा गठबन्धनसँग जनता सामु जाने कुनै आधार नभएको बताएका छन् ।
‘एमाले विचार, दृष्टिकोण र त्यसका आधारमा तयार भएको घोषणा पत्र लिएर निर्वाचनामा होमिइसकेको छ, तर सत्ता गठबन्धनसँग न विचार छ न नीति छ न कार्यक्रम छ न दृष्टिकोण छ न निर्वाचनमा जान घोषणा पत्र छ यस्तो अवस्थामा उसलाई जनता सामु जान र अप्ठेरो परिरहेको छ’, पौडेलले भने ।
नेकपा एमाले लुम्विनी प्रदेश सल्लाहकार परिषदको बुटवलमा आयोजित प्रथम बैठकलाई सम्वोधन गर्दै पौडेलले सत्ता गठबन्धनसंग मुलकको नेतृत्व गर्ने नेतृत्व र त्यसलाई निर्देशित गर्ने साझा घोषणा पत्र समेत नभएको जनताले पत्याउने कुनै आधार नभएको बताए ।
उनले थपे,हामीले आगामी सरकारको नेतृत्व कसले गर्ने भनेर टुंगो लगाएर निर्वाचनमा लागेका छौं तर गठबन्धनलाई सोध्यो भने उनीहरुले प्रधानमन्त्रीको नाम समेत प्रस्ताव गर्न सक्ने अवस्थामा छैनन् ।
हामीले अवको सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुन्छ भनेर निर्णयका साथ जनता सामु मत माग्न थालिसकेको छौं तर गठबन्धनले अबको प्रधानमन्त्री को हो भनेर सोध्यो भने जवाफ दिन सक्छ ? पौडेलले भने ।
चुनावमा गठबन्धन भनेको केवल बाँडेर खाने मात्रै भएको भन्दै पौडेलले एमाले कार्यकर्ताहरुले यी बिषयहरु जनता सामु प्रष्ट पार्नुपर्ने बताए ।
सत्तागठबन्धन केवल बाडेर खाने दाउमा देखिएको बताउदै नेकपा एमालेको एकल बहुमत हुने गरी लाग्न र गठबन्धनका नाममा भएका देश विरोधी गतिविधि आम मतदातालाई बुझाउन कार्यकर्ताहरुलाई समेट्न नेतृत्वलाई पौडेलले निर्देशन दिए । प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलको अध्यक्षतामा सम्पन्न परिषद बैठकको उदघाटन सत्र उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको संचालन तथा दुर्गा थारुको स्वागतमा सम्पन्न भएको थियो ।
बैठकमा प्रदेश सल्लाहकार परिषद सदस्यमा मनोनित तथा प्रदेश संगठन कमिटी सदस्यमा मनोनित सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको थियो ।
यसैबीच प्रदेश सल्लाहकार परिषद बैठकले रुपन्देहीका डा. मुरारी पराजुलीलाई अध्यक्ष, बांकेका लुट बहादुर रावतलाई उपाध्यक्ष र रुपन्देहीका गोपाल प्रसाद अधिकारीलाई सचिवको जिम्मेवारी दिएको छ ।

लुम्बिनी रिभ्यू