• Saturday 25th July 2026

नेपथ्यकाे नयाँ आयाम : मानवताको लागि संगीत अभियान

नेपथ्यकाे नयाँ आयाम : मानवताको लागि संगीत अभियान

नामै काफी छ नेपथ्यको । तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन । समयानुकूल सामाजिक अभियानलाई पनि आत्मसात गर्दै अघि बढ्यो ।


  • लुम्बिनी रिभ्यू

काठमाडौं । नामै काफी छ नेपथ्यको । तीन दशकभन्दा लामो यात्रामा नेपथ्यले गीत सुनाउने काम मात्र गरेन । समयानुकूल सामाजिक अभियानलाई पनि आत्मसात गर्दै अघि बढ्यो । जतिबेला स–साना वालवालिका पढ्ने विद्यालयमा हतियारधारीहरुको हस्तक्षेप बढ्दै गयो, नेपथ्यले ‘शान्तिको लागि शिक्षा’ नाराको साथ आफूलाई अघि बढायो । मुलुक सशस्त्र द्वन्द्वको भुमरीमा फँसेको बेला ‘सुन्दर शान्त नेपाल’ अभियानमा सरिक भएर द्वन्द्वले जन्माएका घाउहरुमा संगीतको मलम दल्ने प्रयत्न गरयो ।

आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रुपान्तरण गर्दै आएको नेपथ्यले आउँदो वर्ष ‘मानवता प्रवर्धन अभियान’ मार्फत मानवीय आयामहरुलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोँच लिएको छ । यसै प्रणलाई सार्थक तुल्याउन नेपथ्यले मुलुकभर फैलिएको अग्रणी सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ ।

अपहेलित भएर सडकको पेटी वा नदीका बगरमा एकजना पनि भोकै सुतेको दृश्य देख्नु नपरोस् भन्ने नै अब ‘मानव सेवा आश्रम’ र ‘नेपथ्य’ दुवैको साझा संकल्प बन्नपुगेको छ ।  अर्थात्, अब नेपथ्यको गीतहरु यस अभियानसँगै ‘मानवताको लागि संगीत’ बन्नपुगेको छ ।

विशेषगरि घर परिवार र आफन्तविहीन भइ वा परिवार र समाजबाट अपहेलित भइ मानशिक रोग लागेका मानिसहरुको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ । वास्तविक रुपमा सहयोगापेक्षी भइ मुलुकका सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवनयापन गर्नु नपर्ने अवस्था निर्माण गर्दै अबको तीन वर्षमा यस संस्थाले सिंगो मुलुकलाई सडक आश्रित मानवरहित तुल्याउने संकल्प बोकेको छ । त्यसै उद्देश्यबाट प्रेरित भएर नेपथ्यले मानव सेवा आश्रमसँग सहकार्यको निधो गरेको हो ।

नेपथ्यले यो सहकार्य अन्तर्गत  आफ्ना कार्यक्रमहरु मार्फत् मानव सेवा आश्रमको अभियान प्रवद्र्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरुलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । यस अभियान अन्तर्गत नेपथ्यले यो वर्ष आफ्ना कार्यक्रमको मूल शिर्षक नै ‘म्यूजिक फर ह्युम्यानिटी’ अर्थात् मानवताको लागि संगीत राख्ने निर्णय समेत गरेको छ ।

हेटौंडामा मुख्य कार्यालय रहेको मानव सेवा आश्रमले हाल सातै प्रदेशको १९ वटा जिल्लाहरुमा २३ वटा केन्द्र संचालन गरिरहेको छ । यि केन्द्रले ७७ वटै जिल्लामा आफ्ना सेवा प्रवाह गरिरहेका छन् । यिनमा सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहीन, मानशिक तथा शारिरिक रुपमा कमजोर) सडक आश्रित मानवहरुले आश्रय पाइरहेका छन् । उद्धार गरेर ल्याएकै क्षणदेखि खाने, लाउने, बस्नेदेखि लिएर औषधोपचार, मानशिक परामर्श अनि तालिमसम्म दिएर उनीहरुको अवस्थामा सुधार ल्याउने कामहरु हुँदैआएका छन् । परिवारसँग अलग्गिएकाहरुलाई फेरि परिवारमै पुनस्र्थापना गरिदिनुका साथै पुनस्र्थापित हुननसकेकाहरुलाई आत्मनिर्भर बनाइदिने सम्मका काम यो संस्थाले गर्दैआएको छ । साथै यसले टुहुरा तथा अनाथहरुका क्षेत्रमा पनि सेवा दिँदै आएको छ । आफ्नो लगाव र सुकर्मबाट आफू कार्यरत ठाउँहरुमा उच्च सामाजिक सम्मान बटुल्न सफल यो संस्था अब स्वयंलाई मुलुकभर विस्तार गर्न चाहन्छ ।

यसै उद्देश्यका निम्ति नेपथ्यले आवाज बनिदिने मात्र नभइ कन्सर्टहरु मार्फत् अर्थ संकलनमा समेत हातेमालो गर्नेछ ।
‘नेपाली समाजले जसरी नेपथ्यलाई मनपरायो, त्यसरी नै नेपथ्यले पनि गीत संगीत मात्र नभइ सामाजिक दायित्वलाईसमेत अभिभाराका रुपमा उठाउँदै आएको छ,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ मुलुक घुम्दाका नमिठो अनुभव थप्दै भन्छन्, ‘द्वन्द्वकालताका र त्यसपश्चात पनि देश यात्रा गर्दा सडकमा भौंतारिएर हिँड्ने मानशिक सन्तुलन गुमाएकाहरुको संख्या बढेको देख्थ्यौं । यिनीहरुको राज्यले उचित व्यवस्थापन गरिदिए हुने जस्तो लाग्थ्यो ।’
‘यसै क्रममा एउटा संस्थाले उनीहरुको उद्धार गरेको सुन्दा मलाई मनमा सन्तोष लागेको थियो’, अमृत भन्छन्
‘अहिले त्यसै संस्थासँग हातेमालो गर्ने जोग मिलेकोमा म खुशी छु,’ अमृतले थपे, ‘अब नेपथ्यको प्रयास मानवताले भरिएको स्वदेश बनाउने हुनेछ ।’

नेपथ्यसँगको सहकार्यले यो अवस्थामा अब उल्लेखनीय फड्को मार्ने विश्वास यसका संस्थापक एवं अध्यक्ष रामजी अधिकारीले लिएका छन् । ‘मानव सेवा आश्रममा स्वस्फूर्त भावले संलग्न लगभग सबैजसो स्वयंसेवी एवं हितचिन्तकहरु परिपक्व उमेरका मात्र देखिँदै आएका छन्,’ अधिकारी भन्छन्, ‘किशोरवय भन्दा माथिका बढीभन्दा बढी तन्नेरीहरुलाई समेट्ने हाम्रो परिकल्पना नेपथ्यसँगको सहकार्यले सार्थक तुल्याउने छ भन्ने कुरामा म आश्वस्त छु ।’
नेपथ्यसँगको सहकार्य जुटेपछि आफूहरुको मनोबल अत्यन्तै उच्च बन्नपुगेको अध्यक्ष अधिकारीले बताए ।
‘साँगीतिक क्षेत्रमा लागेका संस्थाहरुमध्ये नेपथ्यको सामाजिक योगदान र नैतिक वल अत्यन्त उच्च देखिएकै कारण हामीले यो ब्याण्डसँग सहकार्यका लागि हौसिएका हौं,’ अधिकारी भन्छन्, ‘त्यसमाथि ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङको जीवनशैली र उनको सामाजिक छविबाट पनि हामी प्रभावित भयौं ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend