• Saturday 25th July 2026

रवीन्द्र मिश्रले राेजे राप्रपा, बने वरिष्ठ उपाध्यक्ष

रवीन्द्र मिश्रले राेजे राप्रपा, बने वरिष्ठ उपाध्यक्ष


  • लुम्बिनी रिभ्यू

काठमाडौँ ।  पत्रकारिता हुँदै लेखनबाट राजनीतिमा प्रवेश गर्नुभएका रवीन्द्र मिश्रले नेतृत्वको बृहत्तर ध्रुवीकरण पक्षधर समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग एकताबद्ध भएको छ ।

राप्रपाले आज यहाँ आयोजना गरेको कार्यक्रममा मिश्र नेतृत्वको समूह वरिष्ठ उपाध्यक्ष लिएर एकताबद्ध भएको जानकारी गराइयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी निर्वाचनमा एक सय ६५ प्रतिनिधिसभा र तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमै उम्मेदवारी दिने गरी तयारी गरिएको जानकारी गराउनुभयो ।

“देशमा भ्रष्टाचारका घटना बढेको छ, सबै राजनीतिक दलका नेताको सम्पत्ति छानबिन गरौँ, हाम्रा पार्टीका नेताबाट छानबिनको सुरुआत गरौँ, निर्वाचन पद्धति पनि भ्रष्टाचारको कारण बनेकाले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, पूर्ण समानुपातिक पद्धतिबाट सांसद निर्वाचित हुने व्यवस्था गरौँ, संवैधानिक राजा राखौँ”, उहाँले भन्नुभयो ।

राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने उल्लेख गर्नुहुँदै नेता लिङ्देनले सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउन पार्टी लागिपर्ने बताउनुभयो । राजनीतिक दलका सदस्यरहित न्याय परिषद्को अवधारणलाई पनि राप्रपाले अघि बढाएको उहाँले सुनाउनुभयो ।

वरिष्ठ उपाध्यक्ष मिश्रले देशका लागि काम नगर्नेले राजनीति छोड्नुपर्ने बताउनुहुँदै शान्ति, स्थिरता र स्वाधीनताका लागि आफूले राप्रपा रोजेको बताउनुभयो । उहाँले भन्नुभयो, “वीपीको राष्ट्रिय एकता तथा मेलमिलापको नीति राप्रपाले बोकेको छ, वीपीको मेलमिलाप नीति आजको नेपालमा पनि उत्तिकै सान्दर्भिक छ, यी विचारलाई लिएर राप्रपालाई अझै सूचना प्रविधियुक्त दलका रुपमा हामी स्थापित गर्नेछौँ ।”

सार्वजनिक शिक्षा र स्वास्थ्यलाई निःशुल्क एवं गुणस्तरीय बनाउने, सामाजिक सुरक्षा कायम गर्ने तथा ६० प्रतिशत नेपालीले अपनाएको कृषि पेसालाई आधुनिकीकरण गर्ने मुद्दालाई दलले घोषणा पत्रमार्फत लिएर चुनावमा जान लागेको नेता मिश्रले सुनाउनुभयो । धर्मनिरपेक्षता धर्मान्तरणको माध्यम बनेकाले हिन्दू बौद्ध राष्ट्रको पक्षमा राप्रपा रहेको पनि उहाँले बताउनुभयो ।

राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले आफू मन्त्री भएका बेला गरिएको महाकाली सन्धिको कागजात दराजमा थन्क्याएकाले विकासका काममा अवरोध भएको बताउनुहुँदै कार्यान्वयनमा लाग्ने गरी अब मत पाउनुपर्ने बताउनुभयो । पञ्चेश्वर र पश्चिम सेती आयोजना सम्पन्न गरी आयआर्जनमा उपयोग गरिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

कार्यक्रममा बागमती प्रदेससभाका पूर्वसदस्य शोभा शाक्य, राप्रपा नेता बुद्धिमान तामाङलगायतले देशमा देखिएका विकृति, विसङ्गतिबाट मुक्तिका लागि आगामी निर्वाचनमा दल एकमात्र विकल्प बन्ने बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend