
बुटवल । पूर्व अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझेलमा परेको बुटवल मेडिकल कलेजको पूर्वाधार निर्माणको काम तत्काल सुरु गर्ने बताएका छन् । डिपिआर सकिएपनि गठबन्दन सरकारले स्रोत सुनिश्चिता नगर्दा मेडिकल कलेज निर्माणको काम अगाडि बढ्न नसकेको बताउदै पौडेलले चुनाब लगत्तै बन्ने एमाले सरकारले बहुवर्षिय योजनाको रुपमा स्रोत सुनिश्चितता गर्ने र निर्माण प्रक्रियामा लैजाने दावी गरे ।
तिलोत्तमा क्षेत्रमा शुक्रबार आयोजित घरदैलो र कार्यकर्ता भेलामा पौडेलले ठूलो मेहनत र आवश्यकताले निर्माण प्रस्ताव गरिएको मेडिकल कलेज निर्माणलाई रोकिन नदिने बताए । पौडेल अर्थमन्त्री हुंदा एक प्रदेश, एक मेडिकल कलेजको सरकारी नीतिअनुसार तिलोत्तमामा सरकारी मेडिकल कलेज खोल्ने घोषणा भएको थियो । २०७५ चैत ८ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट कार्यालयको उद्घाटन भएको थियो भने बुटवल गतवर्षमात्रै विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेको थियो । डिपिआर स्वीकृत हुनुअघि बजेट विनियोजन भएपनि ततपश्चात बहुवर्ष स्रोत सुनिश्चिता नहुदा निर्माणको काम अगाडि बढेको छैन ।
तिलोत्तमा नगरपालिका–१ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको झण्डै दुई सय बिगाह जमिनमा मेडिकल कलेज बन्ने भनिएको छ । योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुने छ । त्यसका लागि करीब १२ अर्ब खर्च हुने अनुमान छ । १ हजार बेड क्षमताको अस्पतालभित्र दुई वटा ठूला भवनहरू बन्नेछन् । जहाँ १ हजार विद्यार्थी पढ्न र ५ सय डाक्टर नर्स बस्ने सुविधा रहनेछ ।

लुम्बिनी रिभ्यू