• Saturday 25th July 2026

मतदान केन्द्रमा के के निषेधित हुनेछन् ? हेर्नाेस आयोगका चार बुँदे निर्देशन

मतदान केन्द्रमा के के निषेधित हुनेछन् ? हेर्नाेस आयोगका चार बुँदे निर्देशन


  • लुम्बिनी रिभ्यू

काठमाडौं । निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु लिई आए कारबाही गर्ने निर्णय गरेको छ ।

मङ्गलबार आयोगले चार बुँदे निर्देशन जारी गर्दै मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने निर्णय गरेको गाेरखापत्रअनलाइनले जनाएकाे छ ।

मतदान केन्द्रमा क्यामेरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्न लगाइएको आयोगद्वारा जारी निर्देशनमा उल्लेख छ ।

मङ्सिर ४ गते मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता र अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउन आयोगले सार्वजनिक आह्वान र अनुरोध गरेको छ ।

मङ्सिर ४ गते आइतबार बिहान ७ देखि ५ बजेसम्म सातै प्रदेशमा एक साथ प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ ।

संवत् २०७९ साल मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका सन्दर्भमा निर्वाचन आयोगले मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन दिने निर्णय गरेको छ । उक्त निर्णयहरू यसप्रकार छन् :

(क) मतदानका दिन मतदान केन्द्रमा प्रवेश गर्ने मतदाता तथा अन्य व्यक्तिलाई सलाई, लाइटर, फोटो खिच्ने क्यामेरा, मोबाइल तथा अन्य निषेधित वस्तु नलिई मतदान केन्द्रमा आउनको निम्ति प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को दफा २१ बमोजिम सर्वपक्षीय बैठकमा समेत छलफल गराई सार्वजनिक आह्वान र अनुरोध गर्ने ।

(ख) मतदाता वा अन्य व्यक्तिले मतदान केन्द्रमा आउँदा निषेधित वस्तु लिई आएको पाइएमा प्रचलित कानुन बमोजिम तत्काल कारबाही गर्ने र सलाई, लाइटर, क्यामेरा, मोबाइलजस्ता वस्तु लिई आएमा मतदान केन्द्रको प्रवेश विन्दुमा राख्ने व्यवस्था मिलाउने वा मतदान केन्द्र बाहिर निजलाई उपयुक्त लागेको स्थानमा राख्न लगाएर मतदान केन्द्रमा प्रवेश गर्न अनुमति दिने ।

(ग) कसैले फोटो खिच्ने क्यामेरा वा मोबाइल आफ्नो स्थानमा साथमा लगी मतसंकेत गर्ने स्थान मतदान कक्षमा गएमा तत्काल त्यस्तो क्यामरा वा मोबाइल जफत हुने ब्यहोरा सर्वसाधारणलाई सूचित गर्ने ।

(घ) प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९, निर्वाचन आचारसंहिता, २०७९ विपरीत उल्लिखित कार्य गर्ने मतदाता तथा अन्य व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्न मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतमार्फत मतदान केन्द्रमा खटिने सबै मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा सुरक्षाकर्मीलाई जानकारी गराउने ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend