• Saturday 25th July 2026

नमूना नगर जस्तै नमूना निर्वाचन क्षेत्र बनाउने घिमिरेकाे एजेन्डा

नमूना नगर जस्तै नमूना निर्वाचन क्षेत्र बनाउने घिमिरेकाे एजेन्डा


  • लुम्बिनी रिभ्यू

तिलोत्तमा नगरपालिकाको प्रमुखमा निर्वाचित भएर सफल कार्यकाल पूरा गरेका वासुदेव घिमिरे अहिले नेकपा एमालेबाट रूपन्देही क्षेत्र नम्बर–५ मा संघीय सांसदको उम्मेदवार छन् । जसले नगरप्रमुखको ५ वर्षे कार्यकालमा तिलोत्तमा नगरपालिकालाई नमूना स्थानीय तहकोरूपमा स्थापित गराएका छन् ।
५ वर्षको अवधिमा गरेका कामको जगमा उभिएर उनले संघीय सांसदको चुनावी प्रचार गरिरहेका छन् । तिलोत्तमा नगरपालिकाले २०७७ र २०७८ सालमा मुलुककै उत्कृष्ट नगरपालिकाको पुरस्कार र सम्मान पाएको थियो । ०७७ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र ०७८ मा प्रधानमन्त्री शेरबहादुर देउवाले तिलोत्तमा नगरपालिकालाई उत्कृष्ट नगरपालिकाको पुरस्कार हस्तान्तरण गरेका थिए ।

प्रतिनिधि सभाको चुनावी मैदानमा रहेका घिमिरेसँग सत्तारूढ गठबन्धनकातर्फबाट नेपाली काँग्रेसका नेता भरत शाह प्रतिस्पर्धामा छन् । असल, सक्षम र स्वच्छ छविको व्यक्ति जनप्रतिनिधि हुँदा विकास र समृद्धि सम्भव छ भन्ने उदाहरण बनेका घिमिरे आर्थिक र सामाजिकरुपमा पछाडि पारिएको वर्ग, समुदायको उत्थान आफ्नो प्राथमिकतामा पर्ने बताउँछन् ।

‘यहाँका मतदाताले तीव्र विकास र परिवर्तन चाहेका छन् । त्यसकारण मतदाताले मेरो आवश्यकता महसुस गरेका छन्’, घिमिरे भन्छन्, ‘मैले चुनाव जित्दा रूपन्देही–५ लाई नमूना निर्वाचन क्षेत्र बनाउने सोच र योजना बनेका छन् ।’

घिमिरेका मुख्य चुनावी एजेण्डा

निर्वाचन क्षेत्रलाई नै बुद्धको जन्मथलो लुम्बिनीकोरूपमा विकास गर्ने घिमिरे बताउँछन् । ‘लुम्बिनी विकास कोषले चर्चेको क्षेत्रमात्र होइन, समग्र क्षेत्रलाई नै केन्द्रमा राखेर विकास गर्ने योजना छ । अव्यवस्थित बसोबास, भूमिहिन दलित, सुकुम्बासीहरूको समस्याको समाधान गर्दै खेतीयोग्य जमिनमा भूमिगत सिञ्चाइको व्यवस्था गर्ने योजना छ’, घिमिरेले भन्छन् ।

कृषि तथा पशुपालनको व्यावसायीकरण, किसान कार्ड र कृषक अनुदानको व्यवस्था गर्ने, एक निर्वाचन क्षेत्र एक राष्ट्रिय उद्योगको अवधारणा कार्यान्वयन, पर्यटन विकासको पूर्वाधार बनाउने, विस्तृत सडक गुरूयोजना निर्माणगरी सबै सडकको स्तरोन्नती गर्ने चुनावी एजेण्डा घिमिरेले ल्याएका छन् ।

त्यसैगरी, अत्याधुनिक तथा सुविधा सम्पन्न १०० शैयाको अस्पताल बनाउने,् प्रत्येक गाउँपालिका र नगरपालिकामा सुविधा सम्पन्न बर्थिङ सेन्टरको स्थापना, सबै जातजाति, वर्ग, र समुदायलाई सबै क्षेत्रमा निस्पक्ष र समान अवसरको ग्यारेन्टी, युवाहरूलाई स्वरोजगारी बनाउँदै उद्यमशीलता विकासका लागि व्यवसायिक तथा सिपमुलक शिक्षा लगायतका एजेण्डा लिएर घिमिरे चुनावी मैदानमा छन् ।

रूपन्देहीको क्षेत्र नम्बर–५ नेकपा एमालेले जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग चुनावी तालमेल गरेको छ । काँग्रेससँग माओवादी, नेकपा (एस), राष्ट्रिय जनमोर्चाको चुनावी गठबन्धन छ ।

रूपन्देही–५ मा एमाले एक्लैको मत २७ हजार १४५ प्राप्त गर्दा काँग्रेसको २६, ८८८ मत रहेको छ । यस्तै, जसपाको ९ हजार ३३७, माओवादीको ४ हजार ६२५, लोसपाको ३ हजार ५५६, राप्रपाको २ हजार ८१३ र नेकपा (एस)का १ हजार १६३ मत आएको थियो भने जनमत पार्टीले ५ हजार ६५६ मत पाएको छ ।

वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा प्राप्त मतको आधारमा क्षेत्र नम्बर– ५ मा एमाले, जसपा र राप्रपाको प्यानल बलियो देखिन्छ । यहाँका ३२ वटा वडामा वडाध्यक्षलाई खसेको मतको आधारमा एमाले, जसपा र राप्रपा सत्तारूढ गठबन्धनभन्दा ६ हजारभन्दा बढी मतले अगाडि देखिन्छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend