बुटवल । २०१६ सालमा स्याङ्जामा जन्मेका विष्णुप्रसाद पौडेल स्कूल पढ्दापढ्दै भूमिगत राजनीतिमा होमिएका थिए । ०४७ सालमै नेकपा एमालेको केन्द्रीय कमिटीमा प्रवेश पाएका पौडेल सातौं महाधिवेशनपछि स्थायी कमिटी सदस्य बनेका थिए ।
उनी ०६५ सालको आठौं महाधिवेशनबाट सचिव, नवौं महाधिवेशनबाट उपमहासचिव र दशौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भए । उनी संसदीय राजनीतिमा ०५१ सालबाट प्रवेश गरेका हुन् । ०५१ मा पाल्पा क्षेत्र नम्बर ३ बाट सांसद जितेका थिए । ०५६ मा उनी रुपन्देही झरेका पौडेल क्षेत्र नम्बर ३ मा ६ सय ६४ मतले कांग्रेसका सूर्यप्रसाद प्रधानसँग पराजित भए । ०६४ सालबाट विजययात्रा सुरु गरेका पौडेलको भेट पराजयसँग भएको छैन । उनले २०६४ मा माओवादी केन्द्रका भक्ति पाण्डेलाई हराउँदै जित हासिल गरेका थिए । २०७० मा तत्कालीन माओवादी केन्द्रका नेता बाबुराम भट्टराईलाई हराएका थिए । २०७४ मा कांग्रेसका युवराज गिरीलाई दोब्बर मतले जितेका थिए । पौडेलले ४४ हजार ९ मत ल्याउँदा गिरीले २१ हजार ९४५ मत पाएका थिए ।
रुपन्देहीको क्षेत्र नम्बर २ बाट एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल लगातार चौथोपटक जित निकाल्ने दाउमा छन् । सत्ता गठबन्धनको उम्मेदवारी खारेजीपछि चुनावी दौडमा केही दिन पौडेल एक्लै भए । कात्तिक ९ मा गठबन्दनले जनमुक्तिका कार्यकारी अध्यक्ष केशवबहादुर थापालाई समर्थन गरेपछि माहोल केही फेरिएको छ । थापा सत्ता गठबन्दनको साथ लिएर पौडेललाई टक्कर दिने आशामा छन् । यद्यपि पौडेल २०७४ मा भन्दा फराकिलो मतान्तरले जित्ने दाबीसहित मतदाता रिझाउने अन्तिम कसरतमा छन् । तिनै पौडेलसँग अमृता अनमोलले गरेको कुराकानी :

मतदाताको घरवस्तीमा पुग्नुभएको छ ? के भन्छन् मतदाता ?
मतदातासामु तपाईंका एजेण्डा के कस्ता छन् ?
मैले आर्थिक विकासका लागि पूर्वाधार विकास र सामाजिक विकासका लागि मानवीय विकास दुवैलाई प्राथमिकता दिने योजना बनाएको छु । बुटवल सबल आर्थिक केन्द्र र समुन्नत रुपन्देहीको आधार शिक्षा स्वास्थ्य रोजगार पर्यटन र पूर्वाधार भन्ने मुल नारा बनाएको छु । रुपन्देहीलाई मुलुकको प्रमुख आर्थिक आर्थिक केन्द्र बनाइने छ । स्थानीयको बसोवास नउठ्ने गरी मोतीपुर औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अगाडि बढाइने छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नति गरिने छ । पहाडि जिल्ला जोड्ने सिद्धबाबाको पहिरोको समस्या हल गर्न चुनाव लगत्तै सिद्धबाबा सुरुड.मार्गको सिलान्यास हुनेछ । स्थानीयको इच्छा अनुसार तिनाउ दानव करिडोर निर्माण अगाडि बढ्ने छ । लुम्बिनीलाई जोडेर पर्यटन पर्वद्धन गर्न बुटवल, तिलोत्तमा, सैनामैना, सिद्धार्थनगर, देवदहलगायत समग्र रूपन्देही र पश्चिम नवलपरासीका त्रिवेणी, बर्दघाट, रामग्रामदेखि कपिलवस्तुका तिलौराकोट, कृष्णनगर, शिवराजसम्मको क्षेत्रलाई समेटेर बृहत् लुम्बिनी विकास गुरुयोजना तयार गरी कार्यान्वयन गरिने छ । तिलौराकोट, रामग्राम, देवदह, सैनामैनालगायतका ऐतिहासिक एवम् पुरातात्विक महत्वका बुद्धकालीन सम्पदा क्षेत्रको उत्खनन, संरक्षण र विकास गरिने छ । बृहत् लुम्बिनी क्षेत्रअन्तर्गतका सहरहरूलाई उच्चस्तरीय एवम् आधुनिक सडक सञ्जालबाट जोडिने छ र सुविधायुक्त सार्वजनिक यातायात सञ्चालन गरिने छ । बुटवल नारायणगढ मार्ग छिटोभन्दा छिटो सक्ने र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण थालिने छ । ड्रिम प्रोजेक्टको रुपमा रहेको कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन परियोजना अघि बढाइने छ। सामाजिक विकासतर्फ महिला हिंसा अन्त्य गर्ने, उद्यमशिलता बढाउने र हिंसा पीडितलाई अल्पकालीन एवं दीर्घकालीन सेफ हाउस हरेक वडामा बाल उद्यान र ज्येष्ठ नागरिक मिलन केन्द्र बनाइने छ ।
रुपन्देही मुलुकको आर्थिक केन्द्र बन्ने आधार के छन् ?
रुपन्देही देशकै मध्यभागमा छ । पूर्वपश्चिम र उत्तरदक्षिण दुवै राजमार्गमा पर्छ र नेपालभारत सीमा नजिक मात्र होइन सुलभ बेलहिया नाका र देशकै ठूलो भन्सार भैरहवा यहीँ छ । बुटवलमा औद्योगिक क्षेत्र छ। भैरहवामा विशेष आर्थिक क्षेत्र सेज छ । मोतीपुर औद्योगिक क्षेत्र बन्ने क्रममा छ । देशकै ठूला सिमेन्ट, छड लगायतका उद्योग छन् । बुद्धजन्मस्थल लुम्बिनी, मावली देवदह, भैरहवामा अन्तराष्ट्रिय विमानस्थल छन् । बौद्धमूलुकबाट सिधै बुद्धजन्मस्थलमा पर्यटक ल्याउने लक्ष्यका साथ निर्माण गरिएको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट वार्षिक २०लाख पर्यटक भित्राउने लक्ष्य छ । लुम्बिनीमा अन्तराष्ट्रिय सभाहल र बुटवलमा सम्मेलन केन्द्र निर्माण भएका छन् । देशकै ठूलाठूला र नमुना पूर्वाधार विकासका आयोजनाले अहिल्यै यहाँको आर्थिक अवस्था उकासिएको छ । बुटवल पहिल्यैदेखि पश्चिम नेपालको आर्थिककेन्द्र हो । सुरु भएका विकास योजना सकेर रुपन्देहीलाई नै मुलुकको आर्थिककेन्द्र बनाउन सम्भव छ ।
तपाईंको ड्रिम प्रोजेक्ट कालीगण्डकी–तिनाउ बहुउद्देश्यीय नदी डाइभर्सन आयोजनाबारे त विवाद छ नि ?
विकास सुरु गर्दा सामान्य विवाद हुनु स्वभाविक हो । अन्नभण्डारका रुपमा रहेका रुपन्देही कपिलवस्तु र नवलपरासी पश्चिमका धेरै खेतीयोग्य जमिनमा सिंचाइ सुबिधा छैन । तिनाउ नदी र जमिनमूनिको पानी सुक्दै जादा सिंचाइका विकल्प घट्दै गएका छन् । यस्तो बेलामा कालीगण्डकी नदीबाट पानी ल्याउन कालीगण्डकी तिनाउ डाइभर्सन बहुउदेश्यीय आयोजनाको काम अगाडि बढेको हो । कालीगण्डकी नदीलाई तिनाउ नदीमा मिसाई रुपन्देही, कपिलवस्तु र नवलपरासीको करिब १ लाख ७ हजार हेक्टर खेतीयोग्य जमिन सिचाई गर्ने र १ सय २६ मेगावाट विद्युत उत्पादन उद्देश्य छ । डाइभर्सनका लागि स्याड्जाको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरिने छ । जसमा २७ किलोमिटर सुरुङ हुदै पाल्पाको तिनाउ गाउँपालिकाको दोभानमा पानी ल्याइने छ । करिब ९ मिटर चौडाइको सुरुङमार्गबाट ८१ दशमलव ६ क्युसेक पानी तिनाउ नदीमा मिसाइने छ । दोभानमा निर्माण हुने ड्यामबाट १ सय २६ मेगावाट विद्युत उत्पादन गर्ने प्रारम्भिक अध्ययन भएको छ । यसविषयमा म अर्थमन्त्री हुंदा व्यापक छलफल भएरै सुरु भएको हो । हामी उताका नागरिकको चित्त बुझाएरै काम गर्नेछौं ।
अघिल्लो चुनाव र अहिले के फरक पाउनुभएको छ ?
अघिल्लो चुनावमा यस क्षेत्रबाट कांग्रेस प्रतिस्पर्धामा थियो । यद्यपि कांग्रेसका युवराज गिरीको भन्दा मेरो करिब २३ हजार मत बढी आयो । अहिले ठूलो दल कांग्रेस र माओवादी केन्द्रका उम्मेदवार हुनुहुन्न । राप्रपा र जसपाको समर्थन मतिरै छ । यसर्थ मलाई दलहरुको साझा उम्मेदवार म नै हो जस्तो लाग्छ । पाचौं पटक चुनाबी मैदानमा उत्रिएको मेरालागि यो क्षेत्र र मतदाता परिचित हुनुहुन्छ । देशकै नमुना, ठूला र महत्वपूर्ण योजना जिल्लामा सुरु गरेको छु । सुन्दा नपत्याउने विकास योजना उपयोग गर्नसक्ने बनाएको छु । विकास र नागरिकप्रतिको सहकार्य मेरा जनमत बनेका छन् । वर्तमानको विकास र भविष्यको संवृद्धि मेरो जित्ने आधार बनेको छ ।
मतदाताले तपाईंलाई नै किन जिताउने ?
रुपन्देहीको रुप फेर्नेगरी विकास मैले ल्याएको छु । अब नागरिकको जीवनस्तर फेर्ने गरी काम गर्न मलाई जिताउनु पर्ने छ । सुरु विकास आयोजना सक्ने र सकिएका विकासबाट स्थानीयले फाइदा लिने बनाउन मेरो आवश्यकता छ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्रमा राखेर रुपन्देहीलाई विकासको रोलमोडल बनाउने लक्ष्य छ । बुटवल–बेलहिया सडक विस्तार छिटो सक्नु छ । बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक चार लेनमा विस्तार गर्न र बुटवलको तिनाउमा आकर्षक सिग्नेचर पुल बनाउनु छ । मृत्युमार्ग बनेको सिद्धबाबा सडकखण्डमा सुरुङ मार्ग निर्माण थाल्नुछ । सबैभन्दा ठूलो कुरा म दलभन्दा माथि उठेर रुपन्देहीको विकास र देशको संवृद्धिकालागि म उहाँहरुको सारथी बनेको छु । विकास र संवृद्धिको लहरले नागरिकलाई रुपन्देहीवासी हुँ भनेर गर्व गर्नसक्ने बनाएको छु ।
गठबन्दन दलको समर्थनमा गोरेबहादुर खपांगी नेतृत्वको पार्टी तपाईंको प्रतिपक्षमा छ । यसले फरक पार्दैन ?
म हरेक चुनावमा फरकफरक व्यक्तिसित चुनाव लडेको छु । हरेक पटक फरक अनुभूति त हुन्छ । मैले आफ्नो बलियो प्रतिस्पर्धी कांग्रेस नेता सूर्यप्रसाद प्रधानलाई मात्र भेटेको थिएँ । अरुसँग कतिबेला को-को भेटिए छुटिए तिनको प्रतिस्पर्धाले अर्थ राख्दैन । तपाईं संसदीय अभ्यासमा अहिलेसम्म प्रत्यक्षबाट नजितेको दल र तिनका नेताको कुरा गर्दै हुनुहुन्छ । मलाई प्रतिक्रिया नै दिनुछैन । मैले को-को उम्मेदवार छन् ? उनीहरु के भन्छन् ? के गर्छन् ? कसको समर्थन कसलाई छ ? कसलाई छैन ? त्यसबारे वास्ता गरेको छैन । मतदातासामु आफूले गरेका विकासका कामको प्रभाव सोध्दै र आगामी दिनमा के गर्न सकिन्छ बताउदै एमाले र मेरालागि भोट माग्दै हिँडेको छु ।
गठबन्दन दल नै एकातिर हुँदाका चुनौति त होलान् नि ?
मलाई चुनौती छ जस्तो लाग्दैन । चुनावको मुख्य मुद्दा नीति र नेतृत्व हो । अहिले देशमा नीतिगत स्पष्टतासहितको नेतृत्व चाहिएको छ । राजनीतिक स्थायित्व चाहिएको छ । गठबन्दनमा नीति र नेतृत्व स्पष्ट हुदैन । राष्ट्रिय राजनीतिमा एमालेले लिएका नीति र एजेन्डा प्रभावकारी छन् । मुलुकलाई समृद्धिको अभियानलाई तीव्रता दिने एमाले हो भन्ने मतदाताले बुझ्नुभएको छ । रुपन्देहीमा विकासको मूल फुटाउने विष्णु पौडेल हो भन्ने पनि चिन्नुभएको छ । यही आधारमा चुनौति हुँदैन । मतदाताले मलाई र एमालेलाई रोज्नुहुनेछ ।
स्थानीय तहको चुनावको परिणाम त तपाईंको अनुकुल देखिँदैन ?
स्थानीय तहको चुनावमा एमाले केही खस्किएको थियो । तर, अहिले लयमा आइसकेको छ । स्थानीय चुनाव घरगाँउमा बसेर शासन चलाउने चुनाव हो । यो देश चलाउने हो । मतदाता निर्णायक हुनुहुन्छ । कसको हातमा नेतृत्व दिदा आफूहरुको भविष्य सुरक्षीत हुन्छ भन्नेमा मतदाता नै निर्णय गर्नुहुनेछ । यस्तो निर्णय मेरो पक्षमा गर्नुहुनेछ । किनभने मलाई उहाहरु विकासको पर्यायका रुपमा भरोसा गर्नुभएको छ । तीन तीनपटक यस क्षेत्रका मतदाताले जिताएर पठाउनुभयो । अर्थमन्त्री र उपप्रधानमन्त्रीसम्म बनें । मेरो बलबुताले भ्याएसम्म विकासका योजना ल्याएर देशमै बढी बजेट पर्ने जिल्ला बनाएँ । उहाँहरुको सुखदुःखमा साथी बने । अहिले पनि भोट माग्न मात्र हैन । मैले ल्याएका विकास योजनाको प्रभाव कस्तो छ ? यसबाट नागरिकको जीवनस्तर फेरिएको छ छैन मापनका लागिपनि घरबस्तीमा पुगेको छु । पाटीगत रुपमा एमालेप्रति विश्वाश छ भने व्यक्तिगत रुपमा ममाथि भरोसा छ । यसैले स्थानीय तह चुनावको मतको तुलना गर्न मिल्दैन । अघिल्लो प्रतिनिधिसभामा दोब्बर मतले जितेको थिए । अहिले मतान्तर अझ बढाउने छु ।
तपाईंमाथि लुम्बिनी प्रदेशको राजधानी दाङ लैजाँदा विरोधमा नबोलेको र सुकुम्वासीलाई लालपूर्जा दिन नसकेको आरोप छ नि ?
यो नागरिकले लगाएको आरोप नभइ चुनावी फन्डा हो जस्तो लाग्छ । दाङ लगेको अस्थायी मुकाम बुटवल ल्याउन पनि मैले ठूलो मिहिनेत गरेको थिएँ । स्थायी राजधानीका लागि पनि आफ्नो दल र सांसदहरुसँग अनुरोध गरीरहेको थिएँ । प्रदेश सभाको अधिकार भएकाले हस्तक्षेप गर्न सकिएन ।अझै राजधानीका स्थायी संरचना बनेका छैनन् । लगानीका हिसाबले पनि महंगो भएका गुनासा बढेका छन् । प्रदेशसभाबाट बहुमत जुटाएर राजधानी बुटवलमै राख्न पनि सकिन्छ । हतारिएर निर्णय गर्नेहरु फुर्सदमा पछुताउनेछन् ।
सुकुम्वासीलाई पूर्जा र अव्यवस्थित वसोवासीलाई व्यवस्थित गर्नेमा म सधैं दत्तचित्त भएर लागेको छु । अघिल्लो एमाले सरकारले सुकुम्बासी समस्या समाधानको काम अन्तिम चरणमा पुर्याएको थियो । भूमिहीनको पक्षमा पहिलो कानून बनाएको थियो । लगत संकलनदेखि धेरै काम पहिल्यै भ्याएका थियौं । आयोगले धमाधम काम गरेको थियो । विरोधीहरुले रोकी पाउँ भनेर अदालतमा उजुरी गरे । अदालतले पूर्जा वितरण रोकेका कारण बाँड्न सकिएन । चुनावपछि एमाले सरकार बनेलगत्तै काम थाल्नेछौं । एमाले नेतृत्वको सरकारले मात्र सुकुम्बासीलाई जग्गाधनी बनाउने छ । मेरै हातबाट यहाँका सुकुम्वासीलाई पूर्जा बाँड्नेछु ।
साभार : कान्तिपुर

लुम्बिनी रिभ्यू
