• Saturday 25th July 2026

प्रदेश राजधानी दाङमा तत्काल नसार्न माग

प्रदेश राजधानी दाङमा तत्काल नसार्न माग


  • लुम्बिनी रिभ्यू

बुटवल ।अस्थायी संरचनामा लुम्बिनीका मन्त्रालय सार्न थालेको भन्दै नेकपा एमाले रुपन्देहीले विरोध गरेको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीको दवावमा लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट अस्थायी संरचनामा सार्न थालेको भन्दै एमालेले विरोध गरेको हो । यसअघि कांग्रेसले विज्ञप्ति जारी गर्दै तत्काल नसार्न आग्रह गरेको थियो ।

एमाले महासचिव शंकर पोखरेल नेतृत्वको तत्कालीन लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी दाङ तोकेको थियो । प्रदेश सरकारले बुटवलबाट विभिन्न कार्यालयहरू अस्थायी संरचनामा सार्न थालेपछि एमालेले कार्यालयहरू सार्ने हतार नगर्न सरकारको ध्यानाकर्षण गराएको हो ।

एमाले रुपन्देहीका अध्यक्ष तेजेन्द्र केसीले विज्ञप्ति जारी गर्दै दाङमा राजधानीका लागि आवश्यक पूर्वाधारहरू तयार नभएको भन्दै राजधानी सार्ने हतार नगर्न आग्रह गरेका हुन् । विज्ञप्तिमा बुटवलमा राजधानीका लागि आवश्यक पर्ने सबै पूर्वाधारहरू रहेको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा वर्तमान काम चलाउ सरकारले सस्तो लोकप्रियताका लागि पूर्वाधार तयार नभएको अवस्थामा समेत राजधानी सार्ने हतार गरिरहेको उल्लेख छ । नयाँ प्रदेश सभा निर्वाचित भइसकेको अवस्थामा नयाँ प्रदेश सरकारले यो काम गर्दा उपयुक्त हुने एमालेको ठहर छ । यसअघि कर्मचारीहरूले समेत राजधानी सार्ने हतार नगर्न सरकारलाई आग्रह गरेका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend