• Saturday 25th July 2026

कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री देउवा विजयी

कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री देउवा विजयी


  • लुम्बिनी रिभ्यू

काठमाडौं । सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवा विजयी हुनुभएको छ । आज बिहान भएको मतदानमा उहाँले ६४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम एक मात्र प्रतिस्पर्धी पार्टीका महामन्त्री गगनकुमार थापाले २५ मत प्राप्त गर्नुभएको छ । सभापति देउवा ३९ मत अन्तरले विजयी हुनुभएको जानकारी निर्वाचन समितिले दिएको छ ।

प्रधानमन्त्री देउवा २०७४ को निर्वाचनपछि भएको संसदीय दलको नेता पदको निर्वाचनमा उहाँ विजयी हुनुभएको थियो । संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले बिहान ८:४५ बजेदेखि मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

संसदीय दलको नेतामा प्रधानमन्त्री एवम् पार्टी सभापति देउवा र पार्टीका महामन्त्री र थापाले उम्मेदवारी दिनुभएको थियो । नेपाली कांग्रेसमा संसदीय दल र पार्टी सभापति पदमा स्वस्थ प्रतिस्पर्धा गर्ने परम्परा छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ सिटमा विजय हासिल गरेको थियो । सभापति देउवाको उम्मेदवारीको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल र समर्थक पार्टी उपसभापति पूर्णबहादुर खड्का रहनुभएको थियो ।

यसैगरी, महामन्त्री थापाको उम्मेदवारीको प्रस्तावक नेता डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल रहनुभएको छ । समितिले उम्मेदवारी दरखास्त दिन मङ्गलबार दिउँसो २ बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरेको थियो ।

कांग्रेसमा संसदीय दलको नेता नै पार्टीका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार हुने भएकाले यस निर्वाचनलाई महत्त्वपूर्ण मानिन्छ । कांग्रेसको विधानको दफा ४० मा संसदीय दलसम्बन्धी व्यवस्था छ । उपदफा (२) मा संसदीय दलमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट संसदीय दलको नेताको निर्वाचन गर्ने उल्लेख छ ।

प्रतिनिधिसभाको निर्वाचनको अन्तिम परिणामपश्चात् राष्ट्रपति विद्यादेवी भण्डारीबाट आगामी नयाँ सरकार गठनका लागि आह्वान भएसँगै संसद्को सबैभन्दा ठूलो दलका हैसियतमा कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल सुरु गरिसकेको छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend