• Saturday 25th July 2026

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त


  • लुम्बिनी रिभ्यू

 

 

 

 

विराटनगर। नेकपा (एमाले)का स्थायी समितिका सदस्य हिक्मतकुमार कार्की प्रदेश नम्बर १ को मुख्यमन्त्री नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार अपराह्न नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

संविधानको धारा १६८ (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई भन्दा बढी दलको समर्थनसहित दाबी प्रस्तुत गर्नुभएका नेता कार्कीलाई प्रदेश प्रमुख खापुङले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

नेता कार्की सत्ता साझेदार दलका नेता नेकपा (माओवादी केन्द्र)का नेता इन्द्रबहादुर आङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीका सांसद निर्मला लिम्बूसहित प्रदेश प्रमुखको कार्यालयमा पुगेर नयाँ सरकार गठन गर्न दाबी प्रस्तुत गर्नुभएको थियो।

नेता कार्कीलाई मुख्यमन्त्री बनाउन प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा एमालेको ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जनता समाजवादी पार्टीको एक सहित ६० सिटको दाबी प्रस्तुत भएको थियो।

प्रदेश संरचना निर्माण भएपछि प्रदेश १ मा कार्की चौथो मुख्यमन्त्रीको रूपमा नियुक्त हुनुभएको हो। मुख्यमन्त्री नियुक्तसँगै उहाँले सबै पक्षलाई मिलाएर लैजाने बताउनुभएको छ। उहाँले भन्नुभयो ‘गठबन्धनमा आबद्ध र अन्य दलहरूसँग छलफल गरी सबैलाई मिलाएर लैजाने मेरो प्रयत्न हुन्छ।’

२०२१ साल असोज ११ मा झापा गौरादह ३ मा जन्मनु भएका नेता कार्की झापा गौरादहको जनता माध्यमिक विद्यालयमा अध्ययनरत हुँदै विद्यार्थी राजनीतिमा आवद्ध हुनुभएको थियो।

विद्यालयमै अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा संगठित भएर राजनीति आरम्भ गर्नुभएका नेता कार्की धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा आईएल अध्ययन गर्ने पहिलो ब्याचका विद्यार्थीसमेत हुनुहुन्छ। उहाँले कानुनमा स्नातकोत्तर गर्नुभएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend