• Saturday 25th July 2026

राष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी

राष्ट्रपतिको निर्वाचन फागुनमा गर्ने तयारी


  • लुम्बिनी रिभ्यू

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ। नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २८ गतेसम्म रहनेछ। आयोगका सचिव गोकर्णमणि दुवाडीले पदाधिकारी बैठकले निर्णय गरेको मितिमा राष्ट्रपतिको निर्वाचन हुने बताउनुभयो। उहाँले राष्ट्रपतिको निर्वाचनको मिति घोषणाका लागि पदाधिकारी बैठक कहिले बस्ने छ भन्ने सम्बन्धमा भने खुलाउनुभएन।

राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझिएको छ। राष्ट्रपतिको पदावधि पाँच वर्षको हुने संवैधानिक व्यवस्था छ तर राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम पदावधि सकिनुभन्दा एक महिना अगावै दुवै पदको निर्वाचन हुनुपर्ने उल्लेख छ। ऐनअनुसार यही माघ २८ गतेभित्रै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसका लागि पुस महिनाभित्रै निर्वाचनको मिति घोषणा गरेर आयोगले निर्वाचन कार्यक्रम प्रकाशित गर्नुपर्ने थियो। तर माघ पहिलो साता बित्दा पनि आयोगले निर्वाचनको मिति घोषणा गरेको छैन।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भन्नुभयो, “संविधान र ऐनमा असामञ्जस्यता छ। सुरक्षित अवतरणका लागि आयोग छलफलमा छ। छिट्टै निर्णय हुनेछ।” आयोगले सरकारसँगको परामर्शमा राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने कानुनी व्यवस्था छ।

राष्ट्रपतिको निर्वाचन सम्बन्धमा आयोग पदाधिकारीले पुस १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए। कानुनी जटिलतालाई निकास दिन दुवै पक्षले कानुनी परामर्शमा जुट्ने बताएका थिए तर सरकारले अझै राष्ट्रपतिको निर्वाचनको मिति सम्बन्धमा आयोगलाई सुझाव दिएको छैन। आयोगका प्रवक्ता पौडेलले भन्नुभयो, “सरकारको सुझावलाई पर्खिनैपर्ने बाध्यता छैन। यद्यपि सुरक्षालगायतको व्यवस्था सरकारले नै गर्ने भएकाले सहमति र सुझाव आवश्यक पर्छ।”

 

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend