• Saturday 25th July 2026

कस्ता रहे लुम्बिनी प्रदेशसभा स्थापनाका छ वर्ष ?

कस्ता रहे लुम्बिनी प्रदेशसभा स्थापनाका छ वर्ष ?

संघीयताको खारेजी असम्भव : प्रदेश प्रमुख शेरचन,संघीयता दलको कार्यकर्ता पाल्ने थलो हैन : मुख्यमन्त्री लिला गिरी


  • लुम्बिनी रिभ्यू

देउखुरी। लुम्बिनी प्रदेश सभा स्थापना भएको छ वर्ष पुगेको छ। स्थापनाको छ वर्षमा लुम्बिनी प्रदेश सभाले महत्वपूर्ण उपलब्धिको रुपमा प्रदेशको नाम र राजधानी टुंगो लगाएको छ।

स्थापनाको पहिलो कार्यकाल प्रदेशको अस्थायी मुकाम बुटवलबाट कामको सुरुवात गरेको प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा तोकेर स्थायी राजधानी देउखुरीमा आफ्नै प्रदेश सभा भवन निर्माण गरिसकेको छ। अहिले प्रदेश सभाको आफ्नै भवनमा बैठक चलिरहेको छ।

२०७४ सालमा निर्वाचन सम्पन्न भएपछि प्रदेश सभाको पहिलो बैठक माघ २१ गते आजैको दिन बसेको थियो। जुन दिनलाई प्रदेश स्थापनाको दिन मानेर हरेक वर्ष स्थापना दिवस मनाउने गरिएको छ।

प्रदेश सभा सचिवालयले शनिबार औपचारिक कार्यक्रम गरेर प्रदेश सभा स्थापना दिवस मनाएको हो। प्रदेश सभा सस्थापना दिवसको अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले अहिले प्रदेशको दोस्रो कार्यकालसम्म आउँदा संघीयताको विरुद्धमा केही आवाज उठिरहेको बताउँदै संङ्घीता खारेजी अहिले असम्भव रहेको बताउनुभयो।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयता दलको कार्यकर्ता पाल्ने थलो नभएको बताउनुभयो। संघीयता प्राप्त गर्नको लागि लामो संघर्ष गर्नुपरेको स्मरण गर्दै उहाँले आवश्यक कानुन निर्माणको काममा प्रदेश सभा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले संघीता राजनीतिक दलका कार्यकर्ता पाल्ने अथवा उनीहरुलाई संरक्षण गर्ने कुरा गरिएको छ, यो संङ्घीयता विरोधी तत्त्वको विचारले काम गरिरहेको हामीलाई लागि रहेको छ।”

सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाले हालसम्म आवश्यक ७२ कानुन निर्माण गरेको जानकारी दिँदै अब प्रदेश सभाबाट प्रदेश र प्रदेशका नागरिकको हितमा हुने कानुन निर्माणमा जोड दिने बताउनुभयो। सभाले अघिल्लो कार्यकालमा ७२ वटा विधेयक पारित गरेको थियाे।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend