• Saturday 25th July 2026

बृहत्तर लुम्बिनी क्षेत्रको प्रवर्धनका लागि ४२ बुँदे सुझाव

बृहत्तर लुम्बिनी क्षेत्रको प्रवर्धनका लागि ४२ बुँदे सुझाव


  • लुम्बिनी रिभ्यू

भैरहवा। बृहत्तर लुम्बिनी क्षेत्रको ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटनका विषयमा अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा ४२ बुँदे सुझाव प्राप्त भएकाे छ ।

तीन दिनसम्म लुम्बिनीमा भएको अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको छलफलबाट विज्ञहरूले पुरातात्त्विक संरचनाको संरक्षण र दिगो संरक्षण, विकास र पर्यटनमा स्थानीयहरूलाई जोडेर अगाडि बढाउन ४२ बुँदे सुझाव दिएका हुन् ।

छलफलपछि प्रस्तुत सुझाव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, लुम्बिनी विकास कोष र यूनेस्कोले लागू गर्नुपर्नेछ । अन्तर्राष्ट्रिय विशेषज्ञ समितिमा लुम्बिनीस्थित मायादेवी मन्दिरभित्रको पुरातात्त्विक संरचनाको विषयमा गहन रूपमा छलफल भएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुम्बिनी, तिलौराकोट र बृहत्तर लुम्बिनी क्षेत्रको पुरातात्त्विक सम्पदा संरक्षण र दिगो विकासका सवालमा अन्तर्राष्ट्रिय विज्ञहरूले गहन छलफल गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घको सहयोगमा केञ्जे टांगेले तयार पारेको लुम्बिनी गुरुयोजनाको मर्मअनुसार सम्पदा संरक्षणका संरचना बनाउनुपर्ने, बृहत्तर लुम्बिनी क्षेत्रमा पनि त्यही गुरुयोजनालाई अनुसरण गर्नुपर्ने समितिले सुझाव दिएको छ ।

समितिले पर्यटनसँग स्थानीयलाई जोडेर जीविकोपार्जनमा समेत सहयोग गर्न सुझाव दिएको छ । त्यसैगरी तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकरणका लागि आवश्यक थप रणनीति बनाउनुपर्नेमा विज्ञ बैठकले जोड दिएको छ । युनेस्को (जापानीज फण्ड इन ट्रष्ट) अन्तर्गत प्रत्येक वर्ष अन्तर्राष्ट्रिय विशेषज्ञ बैठक बस्दै आएको छ ।

समितिको छलफलमा विश्व केन्द्र यूनेस्कोका सम्पदा विज्ञ प्रो. रोलान्ड लिन, अन्तर्राष्ट्रिय विज्ञ प्रा.डा. रविन कनिङहम, वरिष्ठ विश्व सम्पदाविद् डंकन मार्शल, प्रा.डा यूकियो निसिमुरा, विज्ञ डा. काई वाईज, युनेस्कोका नेपाल प्रतिनिधि मिचाल क्राफ्ट, पुरातत्त्व विभागका पूर्व महानिर्देशक कोषप्रसाद आचार्य, पुरातात्त्विक वसन्त विडारी, वरिष्ठ बौद्ध गुरु डा. लाम, वरिष्ठ ध्यान गुरु विवेकानन्दले सम्पदाका विषयको छलफलमा सहभागिता जनाउनुभएको थियो ।

त्यसैगरी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमान, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव डा. सुरेश श्रेष्ठ, सदस्य सचिव सानुराजा शाक्यलगायतको उपस्थिति थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend