• Saturday 25th July 2026

प्रजनन स्वास्थ्य सुधार्न किशोरकिशोरीकेन्द्रीत सचेतना

प्रजनन स्वास्थ्य सुधार्न किशोरकिशोरीकेन्द्रीत सचेतना

किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर समस्या र कौतुहलता राख्ने वातावरण बनाउन र लैंगिक तथा यौनजन्य हिंसाबाट बचाउन उपाय


  • लुम्बिनी रिभ्यू

संगीता पाण्डे
पाल्पा, प्रजनन स्वास्थ्य सुधारका धेरै उपाय हुनसक्छन् । किशोरावस्थामा प्रजनन स्वास्थ्य र लैंगिकताका बारेमा जानकारी गराउन सके उनी र उनको परिवारमा प्रजनन स्वास्थ्य सुधार्न सकिन्छ । यही उपायलाई पछिल्लो पटक पाल्पाका केही स्थानीय तहमा अपनाइएको छ । जहा“ सामाजिक अगुवा महिलाहरुमार्फत किशोरावस्थाको समूहमा चेतना प्रवाह थालिएको छ । गाउंकै दिदीबैनीले प्रजनन किशोरकिशोरीलाई स्वास्थ्यबारे सिकाउदा त्यसको सकरात्मक प्रभाव समेत देखिन थालेको छ ।
समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखा“चीले आइपास नेपालको सहयोगमा प्रजनन स्वास्थ्य सुधारका कार्यक्रम थालेको हो । यसअन्तरगत बेलाबेलामा त्यहा चेतना प्रवाहका काम हुन्छन् । सरोकारवालाहरुलाई सजग बनाइन्छ । सेवाग्राहीलाई पहुंचमा पुर्याउने काम गरिन्छ । त्यसबाहेक सामाजिक रुपमा अगुवा महिलाहरुलाई चेतनाप्रवाहका लागि खटाइन्छ । उनीहरु स्थानीय समूहमा गएर प्रजनन स्वास्थ्यबारे जानकारी दिन्छन् र चेतना प्रवाह गर्छन् ।
किशोरावस्थामा आउने शारीरिक र मानसिक परिवर्तनको सम्वोधन गर्न बालक्लब र युवाक्लबमा किशोर किशोरीलाई समेत प्रजनन स्वास्थ्यबारे सिकाउने गरिएको हो । किशोर किशोरीलाई यौन तथा प्रजनन स्वास्थ्यबारे खुलेर समस्या र कौतुहलता राख्ने वातावरण बनाउन र लैंगिक तथा यौनजन्य हिंसाबाट बचाउन यसो गरेको तानसेन नगरपालिका ११ की अगुवा विष्णु ठडराइले बताइन् ।
१० देखि १९ वर्ष उमेर समूह किशोर किशोरी समूह हो । यस अवस्थामा प्रजनन अङ्गको विकास हुन्छ । तिनको विकाससँगै विपरित लिंगीसँगको आकर्षण बढ्छ । यौन कौतुहलता जाग्छ । भावानात्मक आवेग पनि बढी हुन्छ । यस्तो अवस्थामा किशोरीलाई यौन र प्रजनन स्वास्थ्यबारे खुलेर समस्या र कौतुहलता राख्ने वातावरण नबनाउँदा सामान्य समस्या पनि जटिल हुन्छ । ‘किशोरकिशोरी समयमा प्रजनन स्वास्थ्यबारे नजान्दा कुलतमा लाग्ने, बालविवाह गर्ने, कम उमेरमा गर्भवती वा सुत्केरी हुने,अनिच्छित गर्भ रहने, अवैध ओसोरपसार र बेचबिखन हुने यौन हिंसा र दुव्र्यवहारमा पर्ने भएकाले त्यसलाई रोक्न किशोरकिशोरी शिक्षा सुरु गरेका हौं ।’ सामाजिक अगुवा ठडराइले भनिन् ।
किशोरावस्थाको प्रजनन स्वास्थ्य समस्या अन्य अवस्थाको भन्दा फरक हुन्छ । यसबेलामा आउने समस्या समाधानका लागि किशोर किशोरी लक्षीत प्रजनन स्वास्थ्य र यौन जिज्ञासा मेटाउन नेपाल सरकारले २०७५ मा खुलदुली मोबाइल्स एप्स सार्वजनीक गरेको थियो । एप्समा किशोरकिशोरी तथा युवा अवस्थामा हुने शारिरिक परिवर्तन, यौन प्रजनन, यौन चाहना, यौन सुरक्षा, रजश्वला लगायतमा जिज्ञासा लिने र समाधानका उपायबारे सिकाइन्छ । एप्समार्फत किशोरकिशोरी तथा युवाहरुले गोप्य रुपमा यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सूचना सजिलो, विश्वासिलो, गोप्य र जोखिमरहित तवरले लिन सक्छन् । खुलदुली भित्र गएर किशोरकिशोरी तथा युवाहरुले आफूलाई लागेको यौन तथा प्रजनन सम्बन्धी जिज्ञाशापनि राख्न सक्नेछन् । जिज्ञाशाको जवाफ सम्बन्धित विशेषज्ञले दिन्छन् । तर धेरै किशोरकिशोरीहरु मोबाइल एप्सबारे जान्दैनन् । ‘किशोर अवस्थामा प्रजनन स्वास्थ्यबारे नजान्दा र शारीरिक तथा मानसिक परिवर्तनलाई बुझ्न नसक्दा धेरै किशोरकिशोरीहरु कुलतमा लाग्ने र हिंसामा परिने रहेछ । त्यसलाई हटाउन अहिले स्थानीय तहमा गठन भएका किशोर किशोरी सन्जाल र बाल संजालमा किशोरकिशोरी अवस्थामा हुने यौन तथा प्रजनन समस्या र खुलदुरीबारे छलफल गरिन्छ।’ तानसेन ११ बन्दीपोखराकी सुनिता ठडराईले भनिन् ।
समाजसेवा तथा वातावरण संस्कृति संरक्षण समूह अर्घाखा“चीका कार्यक्रम संयोजक आदर्श अधिकारीका भनाइमा किशोरकिशोरी उमेर यौनका मामिलामा उच्च चाहना र उत्सुकता हुने समय हो । तरपनि किशोर वा किशोरी बीच यौनको विषयमा छलफल गरिदैन । धेरैजसो यौन विषयका बारेमा साथी, सञ्चारमाध्यम तथा अन्य माध्यमबाट मात्र थाहा हुन्छ । यौनका रहस्यमयी विषयहरू मात्र देख्छ । ती जानकारी अपर्याप्त हुन्छन् । त्यसले फरक मान्यता सिकाउछ । यौन कौतुहलता बढाउछ । ‘यसले कोही यौन हिंस्रक बन्न सक्छन् भने कोही शिकार हुन्छन् । यही कारण पछिल्लो समय किशोरीमाथि धेरै यौन हिंसा भएका छन् । ति हिंसा रोक्न किशोरकिशोरी प्रजनन शिक्षा र चेतना प्रवाहलाई प्राथमिकतामा राखिएको छ,’ अधकारीले भने ।
किशोर किशोरी लक्षित यौन तथा प्रजननसम्बन्धी समस्या हटाउन सरकारले सबैजसो स्वास्थ्य संस्थालाई किशोर किशोरी मैत्री बनाएको छ । कतै यौन तथा प्रजनन स्वास्थ्य क्लिनिक र किशोरकिशोरी परामर्श केन्द्र चलाएका छन् । त्यसमा किशोरीको असुरक्षित तथा अनिच्छित गर्भ पतन गर्ने, यौन तथा प्रजनन स्वास्थ्य सेवा दिने र किशोर किशोरीका कुनै पनि भावनात्मक समस्या समाधान गर्ने सेवा उपलब्ध हुन्छ । तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले सामाजिक अगुवा महिलाले किशोरीका लागि यौन तथा प्रजनन शिक्षाबारे खुलेर कुरा गर्ने, समस्या समाधान गर्ने र जटिलतामा पर्न नदिन सरकारी कामको निगरानी गर्ने र किशोरकिशोरीलाई उत्प्रेरणा जगाउने गरेको बताए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend