
बुटवल –बुुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले नागरिकको साथ र सहयोगले मात्रै दिगो विकास हुने बताएका छन् ।
पशुपति सामुदायिक विकास संस्था बुटवलको दोस्रो साधारण सभामा बोल्दै उनले बुटवलको विकासमा टोलविकास सस्थाको ठूलो भूमिका रहेको बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि बुटवल ९ का वडाअध्यक्ष प्रदीपकुमार श्रेष्ठले पशुपति टोलमा बस्ने नागरिक काममा अत्यन्त उत्सुक रहेको र वडाका काममा सहकार्य गरेको बताए । सामुदायिक विकास संस्था गठन गरेर सामुदायिकभवन बनाउदा यस क्षेत्रका नागरिकलाई अन्तिम संस्कारमा समेत निकै सहयोग पुगेको उनले जनाए ।
कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, व्यापार संघका दीपक अधिकारी, पत्रकार कल्पना तिवारी लगायतले सामुदायिक विकास संस्थाले गरेका कामको प्रशंशा गरे । अध्यक्ष सीता भट्टराईको अध्यक्षतामा भएको साधारण सभामा स्वागत उपाध्यक्ष चिरन्जीवी जोशी र कार्यक्रम संचालन सचिव लक्ष्मी पन्थले गर्नुभएको थियो । साधारणसभामा अध्यक्ष भट्टराईले प्रस्तुत गरेको प्रतिवेदन बहुमतले पारित समेत भएको छ ।

पशुपति सामुदायिक विकास संस्थाले पशुपति टोल अर्थात १६, ३६ कुलो नजिकमा सामुदायिक भवन निर्माण गरेको छ । बुटवलमा बसोवास गर्ने तर आफ्नो घर नभएका, अस्थायी वसोवास गर्ने तथा स्थान अभाव भएका नागरिकलाई अन्तिम संस्कार गर्न भन्दै सामाजिक भवन बनाइएको हो । पशुपति टोल विकास संस्थाले सामुदायिक विकास संस्थामार्फत २०७३ सालदेखि भवन निर्माण थालेको थियो । २ तले पिल्लर सहितको भवनमा तेस्रो तला ट्रष्ट राखेर बनाइएको छ ।यद्यपि ट्रष्ट सहितको उक्त संरचना अझै सकिएको छैन ।
भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका र ९ नम्बर वडा कार्यालयले गरी १० लाख ४ हजार ७ सय ७७ रुपैया सहयोग गरेका थिए । यस्तै प्रदेश सरकार अन्तरगतको पर्यटन डिभिजन कार्यालय भैरहवाले ४ लाख ५४ हजार ५ सय ७५ रुपैया सहयोग गरेको थियो । अन्य रकम स्थानीय तथा समाजसेवीले सहयोग गरेका छन् । भवन निर्माणका लागि चन्दादाता, संस्थाका आजिवन सदस्य तथा विभिन्न संघसस्थाले समेत सघाएका छन् ।

सस्थाका अध्यक्ष सीता भट्टराईले स्थानीयलाई सामाजिक गतिविधि गर्न तथा अन्तिम संस्कार गर्न स्थान अभावले समस्या भएकाले सामुदायिक भवन बनाइएको बताइन् । भवन निर्माण सकिएलगत्तै आसपासका नागरिक अन्तिम संस्कारका लागि आउने गरेको उनले जानकारी दिइन् ।भवन निर्माण तथा व्यवस्थापनका सबै काम अझै नसकिएकाले थप सहयोगका लागि समेत उनले सबैसंग आग्रह गरिन् ।

लुम्बिनी रिभ्यू