
बुटवल, प्राविधिक र व्यावसायिक शिक्षाद्धारा युवा पुस्तामा उद्यमशील संस्कृतिको विकास गर्न सरोकारवालाहरुले सुझाव दिएका छन् । सीप भएका युवालाई स्वदेशमै त्यसको उपयोग र परिचालन गर्न सरकारी भूमिका बढाउनसमेत उनीहरुले माग गरे ।
सूचना तथा सञ्चार प्रविधिलाई शिक्षण माध्यमको रुपमा प्रयोग गर्न, पढ्दै कमाउदै गर्ने संस्कृतिको विकास गर्न र पढाइ वा कामकै लागि युवा विदेशिने प्रविधि हटाउन सरकारी छुट्टै योजना आवश्यक रहेको उनीहरुको भनाइ थियो ।
अन्तरािष्ट्रय युवा दिवसको अवसर पारेर मंगलबार शिक्षाका लागि राष्ट्रिय अभियान रुपन्देहीको आयोजनामा शिक्षा विकासमा युवाको सहभागिता विषय छलफल कार्यक्रममा बोल्ने सहभागीहरुले यस्तो बताएका हुन् । उनीहरुले देश विकास र परिर्वतनका लागि विदेश पुगेका युवा स्वदेश फर्कन जरुरी रहेको बताए । देशलाई आवश्यक पर्ने जनशक्ति विदेश पलायन भईरहेको अवस्थालाई रोक्न सरकारले पहल नगर्ने हो भने अहिले हुकर्दे गरेको बच्चाले देशमा बसेर केहि गर्न सकिन्छ भन्ने कुरा नै बिर्सन सक्ने भन्दै उनीहरुले सरकारले नीति मात्र होईन कार्यान्यनको पाटोलाई समेत बलियो बनाएर युवालाई स्वदेश फकाउने वातावरण सृजना गर्न आग्रह गरे ।
कार्यक्रममा पत्रकार अमृता अनमोलले शिक्षा विकासमा युवा सहभागिता विषयमा कार्यपत्र प्रस्तुत गर्दै शिक्षामा युवाका लागि सुचना प्रविधि, प्राविधिक सीप र उद्यमशिलता जोड्न आग्रह गरिन् । सुचनामा आधारित समाज, ज्ञानमा आधारिता समाज र सिकाईमा आधारित समाजका लागि युवा र सुचना प्रविधि प्राविधिक , व्यवसायिक शिक्षा एवं शिक्षामा युवाका समस्या र समाधानको खोजी हुनुपर्ने उनको धारणा थियो । शिक्षामा स्थानीय स्रोतसाधनको प्रयोग हुने र व्यवहारमा उपयोग हुने नवप्रवद्धनका कामलाई समेत जोड्नुपर्ने उनको भनाइ थियो ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल लुम्बिनी प्रदेश संयोजक समिता मल्लले युवालाई व्यवसायीक बनाउने खालका नवप्रवद्धनका तालिम नहुदा स्वदेशमा राख्न नसकिएको बताइन् । उनले अभिभावकले आफनै देशमा काम गर्नका लागि लगानी दिन नसक्ने तर विदेश जानका लागि धेरै लगानी गर्न तयार हुने वातावरणले पनि युवा विदेश गएको बताइन् ।
शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल रुपन्देही संयोजक सुमित्रा शर्माले शिक्षाका लागि युवा विदेश जानु राम्रो भएपनि उतै बस्नेगरी जाने अवस्था सिर्जना गर्न नहुने बताइन् । उनले विदेशमा लिएको शिक्षा र सीप स्वदेशमै आएर सिकेको सिप र अर्जान गरेको शिक्षालाई आफने देशमा लगानी गर्ने वातावरण सृजना गर्नुपर्ने जनाइन् । पछिल्लो समयमा हाम्रो देशमा रोजगारीको ग्यारेन्टी नहुदा पनि युवा विदेश पलाएन भई रहेको भन्दै त्यसलाई रोक्न सरकारले पहल गर्नुपर्ने बताइन् ।

युवा परिषद लुम्बिनी प्रदेश सदस्य सरोज खनालले हाम्रो शिक्षाले बद्लिदो समय र स्थानिय विषय बस्तुलाई पाठ्यपुस्तकमा जोड्न नसक्दा पनि युवा पलायनलाई रोक्न नसकिएको बताए ।
जिल्ला बाल अधिकार संजाल रुपन्देहीका सदस्य सक्सेश रानाले युवा सँगै अभिभावकलाई पनि सचेतनाका कार्यक्रममा जोड्न सके रुपान्तरण संम्भव हुने सुझाव दिए ।
पैरवी मन्च रुपन्देहीका सल्लाहकार गोमती सुनारले देशमा साना साना कामको सम्मान हुन नसक्नुले पनि युवा विदेश पलायन भएको भन्दै सबै कामको र काम गर्ने जनशक्तिलाई सम्मान गर्ने वातावरण हामी आफैबाट शुरु गर्ने पर्ने बताइन् ।
कार्यक्रममा सुनगाभा सामुदायिक सेवा केन्द्रकी हेमा बेलबासे, जिल्ला बाल सन्जालका सदस्य सक्सेस राना, किशोरी शोसनी चौधरी, टिका परियार ,कार्यक्रममा सेतो गुरास बालविकास सेवा केन्द्र रुपन्देहीका मिनु पुन लगायतले शिक्षामा युवाबारे धारणा राखेका थिए ।

लुम्बिनी रिभ्यू