
बुटवल , विद्युतीय सवारी बढाएर प्रदुषण र इन्धन खपत घटाउन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
विद्युतीय सवारी साधनले वातावरणीय स्वच्छता कायम हुनुका साथै आर्थिक रूपमा व्ययभार समेत कम हुन जाने उनीहरुको भनाइ थियो ।
नेपाल विद्युत प्राधिकरणको ३८ औँ बार्षिक उत्सवको अवसरमा प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयले नागरिकलाई विद्युतीय सवारीको फाइदा बताउदै मंगलबार विद्युतीय सवारी साधनहरुको रयाली समेत निकालेको थियो ।महंगो छ तेल खाडीमा चढौं विद्युतीय गाडीमा भन्ने नारासहित रयाली निकालिएको हो ।
रयाली समापन कार्यक्रममा बोल्ने बक्ताहरूले स्वदेशी विद्युतको खपतले विदेशी मुद्रा संचिती समेत बढ्ने बताए ।
यस क्षेत्रमा विद्युतीय गाडी विक्रीवितरण गर्दै आएका कम्पनीहरूको सहभागीता रहेको उक्त रयाली प्राधिकरण प्रादेशिक कार्यालय बुटवल कालिकानगरबाट सुरू भई तिलोत्तमाको मणिग्राम, बुटवल गोलपार्क हुँदै पुन कार्यालय परिसरमा पुगी समापन गरिएको थियो ।

कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयका प्रमुख नवराज ओझाले पेट्रोलियम पदार्थ आयातका लागि ठूलो मात्रामा विदेशिने मुद्राको न्युनीकरण तथा स्वदेशी विद्युतको खपतका लागि रयालीको आयोजना गरिएको बताए । उनले प्राधिकरणले विद्युतीय गाडीहरूलाई लक्षित गरी लुम्बिनी प्रदेशको बुटवल बसपार्क, बर्दघाट, कपिलबस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर लगायतका क्षेत्रमा चार्जिङ स्टेशन निर्माण गरीरहेको जनाए । प्रमुख ओझाले बुटवल नारायणघाट, बुटवल पोखरा, बुटवल कोहलपुर सडक खण्डहरूको थप विभिन्न स्थानमा चार्जिङ स्टेशन राख्ने तयारी भैरहेको बताए ।
कार्यक्रममा बोल्दै कर्मचारी युनियन केन्द्रीय उपाध्यक्ष कल्पना थापालेनले नेपाल विद्युत प्राधिकरणले विद्युतीय गाडीको प्रयोग बढाउन चार्जिङ स्टेशन निर्माण गर्न चाहानेहरूका लागि पुर्वाधार निर्माण गरीदिने ,सहुलियतमा विद्युत प्रदान गर्नुका साथै ट्रान्सफर्मर निशुल्क जडान लगायतका सुविधा दिने जानकारी दिइन् ।
प्राधिकरण लुम्बनी प्रादेशिक कार्यालयका प्रशासन शाखा प्रमुख रामप्रसाद पोखरेलले यस क्षेत्रमा विद्युतीय सावारी साधन प्रयोग गर्नेहरू दिनानुदिन बढ्दै गएको बताए ।

लुम्बिनी रिभ्यू