बुटवल — नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले विरुद्धको चौतर्फी घेराबन्दी भएको बताएकी छन् । तीन तहकै सरकारमा एमाले नहुनु र गठबन्धनका नाममा सर्वत्र शक्तिकेन्द्रित गरेर एमालेलाई देशव्यापी घेराबन्दी गरेको उनले बताइन् ।

बुटवलमा आइतबार पत्रकारहरुसँगको भेटमा सचिव अर्यालले घेराबन्दी तोड्न एमालेका सबै कमिटीलाई चलायमान बनाउनेगरी अगाडि बढेको बताइन् । उनले पहिलो पटक पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गरेर संघीयता कार्यान्वयनमा सहजता ल्याउने र सबै तहका पार्टी कमिटीलाई नयाँ नेतृत्व दिने उनको भनाइ थियो ।
एमालेविरुद्ध चौतर्फी घेराबन्दी हुँदा पनि सतिसालजस्तै उभिएका पार्टी सदस्यको सम्मान गर्न, सबै तहका कमिटीलाई चलायमान बनाउँदै नागरिकसँग जोडिएका सामाजिक कार्यको अभियान थालिएको सचिव अर्यालले बताइन् ।
पछिल्लो पटक धेरै कार्यकर्ता र शुभेच्छुककको चिन्ता नेतृत्वले समय नदिएको, पार्टी कमिटी चलायमान नभएको, जिम्मेवारी लिएर बसेका व्यक्तिहरुले बेवास्ता गरेको, निर्वाचनका बेलामात्र आफूहरुलाई प्रयोग गरेकाजस्ता धेरै गुनासा आएको उल्लेख गर्दै अर्यालले त्यसलाई मध्यनजर गर्दै हरेक कमिटीलाई नागरिकसँग जोडिने अभियान थालेको जनाइन् । उनले प्रदेश कमिटीको प्रतिनिधिमा समावेशी सहभागिता र युवा सहभागितालाई विशेष ध्यान दिएको बताइन् ।

लुम्बिनी रिभ्यू