
बुटवल ।
नेकपा (एमाले) लुम्विनी प्रदेश कमिटी विभागीय प्रमुख र सचिवको संयुक्त वैठकले विभागलाई तत्काल पूर्णता दिने र सवै विभागहरुले जिम्मेवारी अनुसारको काम अगाडि बढाउने निर्णय गरेको छ ।
प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलको अध्यक्षतामा वसेको वैठकमा पोलिटव्युरो सदस्य लिला गिरीले पछिल्ला दिनमा पार्टी काम धेरै कम हुनुका साथै कामको प्रकृति निर्देशनमुखी हुने गरेकाले परिवर्तित अवस्थामा समयानुकुल हुन आवश्यक रहेको बताए ।
पार्टी कामको जिम्मेवारी लिने तर जिम्मा पाइन भन्ने अवस्था रहनु भनेको कामको अन्यौलता हुनु भएको बताउँदै गिरीले हरेक विभागहरु राज्यको आवश्यकता अनुसार भएकोले सरकारमा रहँदा वा नरहँदा रचनात्मक सुझावको अपेक्षा पार्टीले गर्ने जनाए ।
अध्यक्ष राधाकृष्ण कँडेलले हरेक विभागले गर्नुपर्ने कामको संक्षिप्त चर्चा गर्दै विभागहरुले स्वःस्फुर्त रुपमा कार्यक्रम वनाएपछि पार्टी कमिटीले अनुमोदन गर्ने वताए । विभागहरुले जिल्ला वा पालिकासम्म कार्यक्रम वनाउन सक्ने तर, तत् तत् ठाउँको पार्टी कमिटीसंग समन्वय गरेर काम गर्न विभागीय प्रमुखहरुलाई उनले निर्देशन दिए ।
विभागले कार्यक्रम वनाउँदा सरकारका नीति नियम र कानुनलाई पनि हेक्का राखेर काम गर्ने र तत् विषयमा अध्ययन अनुसन्धान गर्ने काम पनि गर्न सकिने उनको भनाइ थियाे ।
हामीले सरकारमा रहँदा सरकारलाई सुझाव दिने र नरहँदा रचनात्मक प्रतिपक्षको रुपमा विषयगत सुझाव दिएर पार्टीलाई सहयोग गर्ने कुरामा विभागीय प्रमुखहरुको विशेष ध्यान जान आवश्यक छ, कँडेलले भने ।
पार्टीमा हरेक व्यक्ति हरेक विषयको विज्ञ हुन नसक्ने भएकोले विभागहरुले पार्टी समर्थक, शुभेच्छुक वा अरु विज्ञको पनि सूचि बनाएर परिचालन गर्न सक्नुपर्छ, कँडेलको भनाई थियो ।
पार्टी केन्द्रीय सदस्य तथा दाङ इन्चार्ज चेतनारायण आचार्यले पार्टीलाई जुझारु बनाउन विभागहरुको भूमिका महत्वपूर्ण हुने भएकोले स्पष्ट योजनाका साथ अघि वढ्ने विश्वास ब्यक्त गरे ।
वैठकले कार्यक्रमहर वनाउँदा मितब्ययी वनाउने, विभागहरुलाई पूर्णता दिदा तत् तत् विषयमा काम गरेको वा जानकारलाई प्राथमिकता दिने तर पार्टी जिम्मेवारीमा रहेकोलाई दोहोराउने काम नगर्ने, पार्टीको विधान, नियमावली र अन्तरपार्टी निर्देशनको अध्ययनमा जोड दिने, कामको आधारमा विभागहरुको मूल्यांकन गर्ने परिपाटीको विकास गर्नेसमेतका निर्णयहरु गरेको छ ।
सो अवसरमा विभागीय प्रमुखहरु प्रदेश कमिटीका उपाध्यक्ष भोजप्रसाद श्रेष्ठ, उपसचिव पूर्णवहादुर बुढा लगायत मधुकृष्ण पन्थ, डी.आर. घिमिरे, थानप्रसाद गैरे, टंक पराजुली, तुलसा केसी, बिजुला रायमाझी, जुद्घवहादुर विक, कुमार थापा, कमला विश्वकर्मा, किरण नेपाल, प्रकाश जीसी, खुमा आचार्य, केशव गिरी, अर्जुन केसी, अस्मिता पाण्डे, बसन्त श्रेष्ठ, राम दयाल गुप्ता, घननाथ खनाल, डीबी आचार्यले कार्ययोजना प्रस्तुत गरेका थिए ।

लुम्बिनी रिभ्यू