
बुटवल । रुपन्देहीको तिलोत्तमास्थित मणिग्राममा तिलोत्तमा उद्योग वाणिज्य संघले संचालन गरेको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सवमा स्थानीयको भीड बढेपछि ५ दिन थप गरिएको छ ।
मंसिर १ गतेदेखि जारी महोत्सवमा हालसम्म २ लाख ५० हजार बढी दर्शकले अवलोकन गरेको र ९ करोड बढीको आर्थिक कारोबार भएको बताउँदै अध्यक्ष गुणानिधि भण्डारीले स्टलधनीको आग्रह र मेलामा सहभागीको चाप बढेकाले ५ दिन समय थपिएको बताए ।
‘सबल अर्थतन्त्रको आधार, कृषि, एवम पर्यटन, उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ चलेको मेलामा दिपावली छठ लगायतका कारणले दर्शक र व्यवसायीहरुको मागअनुसार आइतबासम्म मेला सञ्चालन हुने अध्यक्ष भण्डारीले जानकारी दिए । मेलामा मुलुकका विभिन्न स्थानमा उत्पादित कृषि तथा औद्योगिक उत्पादनका साथै आधुनिक कृषि एवं औद्योगिक मेशिनरीको प्रदर्शनी एवं बिक्रीका लागि राखिएको छ ।
कृषिमा हुँदै गएको आधुनिकीकरण, स्वदेशी बस्तुको उत्पादन साथै व्यावसायिकीकरण, पर्यटनको सम्भावनासँगै ती स्थानको पहिचान एवं गन्तव्यको सुनिश्चितताको खोजीका लागि महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ । मेलामा औद्योगिक प्रविधि, रेष्टुरेन्ट, कृषि, हस्तकला, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायत बिभिन्न प्रकृतिका २५४ स्टलहरू रहेका छन् ।
मेलामा स्थानीय उत्पादनहरुलाई विशेष प्राथमिकता दिइएको र स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि निःशुल्क स्टलको व्यवस्था रहेको आयोजकले जनाएको छ । मेलाको अवलोकनको लागि ८० रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ भने विद्यार्थीलाई ५० प्रतिशत छुट र ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको महासचिव राजकुमार पाण्डेय बताए । बिक्री भएको टिकटको ५ प्रतिशत रकम सामाजिक सुरक्षा कोषका लागि छुट्टाइने महासचिव पाण्डेले बताए ।

लुम्बिनी रिभ्यू