• Saturday 25th July 2026

कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन : देउवा

कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन : देउवा


  • लुम्बिनी रिभ्यू

नवलपुर ।
नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले राजतन्त्र कुनै पनि हालतमा नफर्किने बताएका छन् । पूर्वीनवलपरासीको दलदलेमा भएको नेपाली काङ्ग्रेस नवलपुरको पहिलो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले सो कुरा बताएका हुन् ।
‘जनताले संविधानमार्फत फालिसकेको राजतन्त्र फर्कन संभव छैन, कसैले चाहँदैमा अब राजतन्त्र फर्किदैन’ देउवाले भने । सार्वभौम संविधान सभाको निर्णयले गणतन्त्रको स्थापना भएकाले अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेकाे देउवाकाे भनाइ छ ।
‘केही दिनदेखि देखिएको गतिविधिबारे देउवा केही बोलेनन् भन्ने सुनेको छु । हाम्रो पार्टीको स्पष्ट धारणा छ संघीयता र गणतन्त्रको बिरुद्ध हुने कुनै पनि गतिबिधि हामीलाई मान्य छैन’ देउवाले पार्टी र आफ्नो धारणा बताउँदै भने ।
‘पत्रकारले शेरबहादुर बोलेन भन्छन्, मैले भन्नै पर्छ संविधान सभाले निर्णय गरेकाले अब राजतन्त्र फर्किदैन, सबै मिलेर लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र मजबुत बनाउन पर्छ’ देउवाले थपे।
धर्म निरपेक्षका बिषयमा पार्टीमा छलफल गर्न सकिने भएपनि गणतन्त्रको विकल्प नभएको उनले बताए । पार्टीका सबै मतभेद हटाएर सङठन बिस्तारमा लाग्न देउवाले काङ्ग्रेस नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले जनता र पार्टी कार्यकर्तामा रहेको अन्यौल हटाउन काँग्रेसको नेतृत्व लागिपरेको बताए । नेता र कार्यशैलीप्रति असन्तुष्टि जनाउनु फरक कुरा भएको भन्दै निरंकुश राजतन्त्रको बारेमा वकालत गर्नु भविष्यका लागि घातक हुने बताए । पार्टी जिल्ला सभापति तथा प्रदेशमन्त्री महेन्द्रध्वज जिसीको अध्यक्षतामा सुरु भएको प्रथम सम्मेलनले जिल्लाभित्र रहेका आर्थिक, सामाजिक र राजनीतिक विषयमा छलफल गर्ने कार्यतालिका छ । सभापति देउवासहितका शीर्ष नेताहरू मंगलबार रूपन्देहीको सम्मेलनमा भैरहवामा रहने कार्यक्रम छ ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend