• Saturday 25th July 2026

जलवायु परिवर्तनजन्य घटनाका कारण ठुलो हानी नोक्सानी : राष्ट्रपति पौडेल

जलवायु परिवर्तनजन्य घटनाका कारण ठुलो हानी नोक्सानी : राष्ट्रपति पौडेल


  • लुम्बिनी रिभ्यू

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाललगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरू हुन् भन्ने कुरा बिर्सन नहुने बताउनुभएको छ ।

उहाँले इसिमोड स्थापनाको ४० औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै जलवायु परिवर्तन, वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरू राष्ट्रिय सिमानाभित्र नभई सीमा पारी र विश्वस्तरमा पर्न जाने स्पष्ट पार्नुभयो ।

पौडेलले भन्नुभयो–‘अहिलेको विश्व मानव सृजित जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वातावरणीय प्रदूषणका कारणले सङ्कटमा छ । पहाडी संवेदनशील भूबनौट र कमजोर आर्थिक सामाजिक कारणहरूले गर्दा हिन्दुकुश हिमालयजस्ता पर्वतीय हिमाली क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव अझ व्यापक छ ।’

राष्ट्रपति पौडेलले नेपालजस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्यसरह योगदान गरे पनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्यधिक भएको उल्लेख गर्दै केही समयअघि संयुक्त राष्ट्रसङ्घका महासचिवको नेपाल भ्रमणका क्रममा आफूले कार्बन उत्सर्जनको कारक नभएर पनि नेपालले भोग्नुपरेको जलवायु परिवर्तनको असरको मार सम्बन्धमा विश्वको ध्यानाकर्षण गराउन गरेको आग्रह स्मरण पनि गराउनुभयो । पौडेलले भन्नुभयो–‘जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गरेर यस क्षेत्रका मानिसको जीवन सहज बनाउनु आज हाम्रा सामु ठुलो चुनौती छ । हिमालमा हिउँ पग्लने, हिमताल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठुलो हानी नोक्सानी पुगिरहेको छ ।’

उहाँले नेपाल सरकारले जलवायु परिवर्तन, वातावरणीय ह्रास, विपत् जोखिम न्यूनीकरण, जैविक विविधता संरक्षण, जीविकोपार्जनसम्बन्धी मुद्दामा छिमेकी मुलुक र अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रपति पौडेलले नेपाल इसिमोडको संस्थागत विकास गर्न र समग्र हिन्दुकुश हिमालमा अवस्थित पर्वतीय क्षेत्रको दिगो विकासका लागि सधैँ प्रतिबद्ध भएको र भविष्यमासमेत नेपालको सहयोग जारी रहने बताउनुभयो । उहाँले भन्नुभयो–‘हिन्दुकुश पर्वतीय शृङ्खला यस क्षेत्रका लागि मात्र नभएर संसारकै लागि खाद्यान्न, ऊर्जा, पानी, सांस्कृतिक र जैविक विविधताका लागी महत्त्वपूर्ण सम्पत्तिको रूपमा रहेको सबैलाई विदितै छ । हिन्दुकुश हिमालयको पर्यावरणीय सेवाको छातामुनि संसारका एक चौथाइ मानव जीवन आश्रित छन् । यो क्षेत्रको संरक्षण कति महत्त्वपूर्ण छ भन्ने यसबाट पनि प्रस्ट हुन्छ ।’

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend