
जाजरकोट । नेकपा (एमाले) का स्वयंसेवकहरूले जाजरकोट भूकम्प प्रभावितका लागि ८१३ वटा अस्थायी आवास निर्माण गरेर हस्तान्तरण गरेका छन् ।
बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट ध्वस्त भएका जाजरकोट र रुकुमपश्चिम जिल्लाका ८१३ वटा निजी आवास र १६ वटा अस्थायी विद्यालयको निर्माण गरेको प्रभावित क्षेत्रमा खटिनु भएका एमाले केन्द्रीय विपत व्यवस्थापन तथा स्वयं सेवा विभागका प्रमुख किरण पौडेलले जानकारी दिनुभयो ।
कात्तिक १८ गते नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले भूकम्प प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्नुभएको थियो । लगत्तै बसेको पार्टीको सचिवालय बैठकले स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको थियो । संयोजक पौडेलका अनुसार कात्तिक १८ गतेदेखि नै पार्टीको जिल्ला कमिटी, विद्यार्थी र युवाहरू उद्धार, खोज र राहतमा लागेका थिए ।
‘यहाँ हामीले धेरै गरेका छैनौं तर केहि काम भने गरेका छौं’ संयोजक किरण पौडेलले भन्नुभयो– जाजरकोट र रुकुमपश्चिममा भवन र भौतिक संरचना मात्रै होइन, हरेक मान्छेका मन पनि क्षतविक्षत छन् । विपदले विक्षिप्त भएका मनमा थोरै भए पनि खुशी ल्याउने काम गरेका छौं । यो बीचमा खुला आकाशमुनि भोको पेटमा, हप्तौं ननिदाएका आँखाहरूमा निद्रा ल्याउने काम गरेका छौं ।
उहाँले भन्नुभयो– भौतिक संरचनाको खोज, उद्धार र पुनःनिर्माणको काम गर्ने दौरानमा हामीले स्थानीय जनता र पार्टीलाई भार नपर्ने गरेर आफैले व्यवस्थापन गरेका छौं ।
चौबीस घण्टा पैदल यात्रामा रहेको टिकाचौर जस्ता गाउँमा समेत स्वयम्सेवकका रूपमा सेवा गरेको संयोजक पौडेलले बताउनुभयो ।
‘हामीले सेना र प्रहरीले सम्हाल्न नसकेका खोज र उद्धारका कामका साथै सुरक्षित अस्थायी आवास निर्माण गरेका छौं । नलगाड नगरपालका– १ को कल्पतमा २५ वटा रहरलाग्दा मोडेल घर निर्माण गरेर हस्तान्तरण गरेका छौं । विकट क्षेत्रलाई बढी प्राथमिकता दियौं । चुनावको प्रचारमा नेताहरू नपुगेको स्थानमा हामी काम गर्न पुगेका छौं । जनताको केही पनि नलिने र जनतालाई भार नपार्ने निर्देशन पार्टी केन्द्रको थियो तर स्थानीयले बिहानै घरमा फलेको फलफूल, तरकारी, साग, मासु ल्याएको नकार्न सकेनौं’ संयोजक पौडेलले भन्नुभयो ।
आफूले कहिल्यै पनि एमाले पार्टीको पहिचान नदिएको बताउनु भएका पौडेलले काम गर्ने सन्दर्भमा अरु पार्टीसँग कहिल्यै होडबाजी नगरेको बताउनुभयो । नेपाली कांग्रेसको पार्टी कार्यालयदेखि सहारा खोजिरहेका नागरिकलाई विभेद नगरी सेवा प्रवाह गरेको त्यहाँ खटिएका स्वयम् सेवकहरूले बताएका छन् ।
दुई हजार अस्थायी टहरा निर्माणको लक्ष्य लिएको एमालेले बाँकी निर्माणको काम जाजरकोट र रुकुम पश्चिम जिल्लाको पार्टीले नेतृत्व लिने भएको छ । देशका विभिन्न जिल्लाबाट खटिएका स्वयम्सेवकहरूलाई बिदाई गर्दै स्वयम्सेवक टोलीका संयोजक पौडेलले निर्माणको कामको जिम्मेवारी पार्टीका जाजरकोट जिल्ला इन्चार्ज खेमबहादुर शाही र रुकुम पश्चिमका अध्यक्ष नन्दराज देवकोटालाई हस्तान्तरण गर्नुभयो ।

लुम्बिनी रिभ्यू