• Saturday 25th July 2026

सामाजिक सञ्जालबाट भएका हिंसाका मुद्धाहरु बढे

सामाजिक सञ्जालबाट भएका हिंसाका मुद्धाहरु बढे


  • लुम्बिनी रिभ्यू

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चार माध्यममा लैगिक संवेदनशीलताका विषयमा सरोकारवालालाई राखेर अन्तरसंवाद गरेको छ ।
लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत गरिएको यो कार्यक्रममा सहभागीले सञ्चारमाध्यमहरु लैंगिकरुपमा समावेशि हुनुपर्ने, बिषयबस्तु उठानमा लैंगिक संवेदनशिलता र लैंगिक नीति निर्माणमा चुकेको भन्दै यसतर्फ ध्यान दिन सुझाव दिएका छन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख भरतबहादुर विकले लैंगिक हिंसा विरुद्धको अभियानका सन्दर्भमा सञ्चारमाध्यममा लैंगिक संवेदनशिलता कार्यक्रम राख्नु आफैमा सकरात्मक रहेको बताए । उनले रुपन्देहीमा घरेलु हिंसा, यौनजन्य हिंसा, मानव बेचविखन देखिएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जालबाट भएका हिंसाका मुद्धाहरु बढेकाे बताए । उनले लैंगिक हिंसाले महिला र पुरुष हिंसाको कुरा गरेपनि रुपन्देहीमा महिला हिंंसा नै बढिरहेको बताए । उनले बिशेषगरी आफन्तहरुबाट बालिकाहरु यौनजन्य हिंसाको शिकार भएकाले यसतर्फ प्रहरीले संवेदनशील रुपमा अध्ययन अनुसन्धान गरिरहेको बताए । प्रहरी प्रमुख विकले सञ्चारमाध्यमले हिंसामा परेकाहरुको सन्दर्भमा नाम, तस्विर र उनको बिषय उठान गर्दा संवेदनशील हुन समेत आग्रह गरे ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले रुपन्देहीमा महिला सञ्चारकर्मीहरुलाई असुरक्षा नरहेको बताए । उनले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानमा पत्रकार महासंघ संस्थागत रुपमा गतवर्षदेखि कार्यक्रमको हिसाबले जोडिएको बताउँदै लैंगिक हिंसा विरुद्धका समाचार सम्प्रेषणमा रुपन्देहीका पत्रकारहरु संवेदनशील रहेको बताए । महासंघ रुपन्देहीका उपाध्यक्ष अमृता अनमोलले लैंगिक हिंसाको अभियान चलिरहँदा सञ्चारमाध्यममा पनि लैंगिकताको अवस्था कस्तो छ भनेर समीक्षा गर्न कार्यक्रम गरिएको बताइन् ।
कार्यक्रममा अग्रज पत्रकार गुरुदत्त ज्ञवाली, माया गौतम, प्रेस युनियन रुपन्देहीका सभापति कविन्द्र नेपाल, सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतम, क्रियाशील महिला पत्रकार रुपन्देहीका अध्यक्ष कल्पना तिवारीलगायतले बोल्दै लैंगिक हिंसाविरुद्धको अभियानमा पत्रकारिताको तर्फबाट प्रतिबद्धता जनाएका थिए । कार्यक्रमको सञ्चालन सहसचिव माया केसीले गरेकी थिइन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend