• Saturday 25th July 2026

मध्यपहाडी क्षेत्रमा नमुना सहर बसाउने योजना अलपत्र : पाेखरेल

मध्यपहाडी क्षेत्रमा नमुना सहर बसाउने योजना अलपत्र : पाेखरेल


  • लुम्बिनी रिभ्यू

विराटनगर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मध्यपहाडी क्षेत्रमा नमुना सहर बसाउने योजना अलपत्र परेको बताउनुभएको छ । नेकपा एमाले मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पुष्पलाल राजमार्गमा एमाले सरकार हुँदा स्मार्ट सिटी बनाउने योजनाहरू अहिले अलपत्र भएको भन्दै त्यस क्षेत्रको विकासका लागि स्मार्ट सिटीहरु निर्माण गरी मध्यपहाडलाई गुल्जार बनाउन जरुरी रहेको बताउनुभएको हो ।

मध्यपहाडी राजमार्गलाई प्रविधिसँग जोड्न झण्डै ४ सय किलोमिटर लम्बाइ घटाउनुपर्ने यात्राका क्रममा बोध भएको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बताउनुभयो । एमालेले भर्खरै पाँचथरको चिवाभञ्ज्याङमा पुगेर काठमाडौंमा औपचारिक समापनको तयारी गरिरहेको सङ्कल्प अभियानमा लोकमार्गको प्राविधिकहरुको प्रारम्भिक रिपोर्टका आधारमा लम्बाइ घटाउनुपर्ने सुझाव आएको जानकारी दिनुभयो ।

यात्राको क्रममा एमाले अध्यक्ष केपी ओलीप्रति जनस्तरमा सबै उमेर समूहका व्यक्तिहरु आकर्षित पाएको पनि महासचिव पोखरेलले बताउनुभयो । यात्राको क्रममा स्थानीय क्षेत्रका कैयौं समस्याहरु, विकासका आकांक्षाहरु र राज्यका तर्फबाट जनतालाई गर्ने सेवा प्रवाहका विषयमा देखिएका समस्याहरु जानकारीमा आएको पनि उहाँले बताउनुभयो । यात्राले पहाडी क्षेत्रको सांस्कृतिक, सामाजिक र अर्थराजनीतिमा नयाँ नयाँ योगदान दिएको उहाँको भनाइ थियो ।

यात्राको क्रममा विभिन्न फलफूल खेतीको पकेट क्षेत्र विकास गर्न सकिने सम्भावनाहरु पहिचान भएको र खानीजन्य अन्य उद्योगको सम्भावनाको बारेमा पनि जानकारी लिन सहयोग पुगेको उहाँले बताउनुभयो । झण्डै १७ दिनसम्म लगातार भएको यो यात्रामा सरकारबाट सञ्चालन भइरहेका आयोजनाहरुको अवस्था अध्ययनका हिसाबले पनि महत्वपूर्ण भएको उहाँको भनाइ छ । उहाँले कतिपय आयोजनाको काम तोकिएको समयावधिभन्दा छिटो भए पनि भुक्तानीमा ढिलाइ भएको बताउनुभयो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend