
बुटवल । पूर्व अर्थमन्त्री विष्णु पौडेलले विकासका मुद्दामा राजनीतिक पूर्वाग्रह नराख्न आग्रह गरेका छन् । विकासका काम ठप्प हुदा आर्थिक मन्दी अझ बढेको, आयोजना अलपत्र परेको, रकम खेर गएको र नागरिकमा निराशा छाएको बताउदै उनले जुन सुकै दल र नेताले विकासका काम सुरु गरेपनि अर्को सरकार र नेताले त्यसलाई निरन्तरता दिनुपर्ने बताए ।

बुटवलमा लुम्बिनी एक्स्पो–२०८०, अन्तर्राष्ट्रिय व्यापार मेलाको बिहीबार उद्घाटन गर्दै पूर्व अर्थमन्त्री पौडेलले राजनीतिक पूर्वाग्रहमा विकासको गतिलाई नरोक्ने र सकिएका आयोजनालाई कार्यान्वयनमा ल्याउने होे भने नागरिक रोजगारी बढ्ने र आर्थिक हैसियत बढ्ने बताए ।

आफ्नो पालामा सुरु भएका धेरै विकासका कामलाई वर्तमान सरकारले अलपत्र पार्ने काम गरेको बताउदै उनले नागरिकको हैसियत बदल्ने र देशको मुहार फेर्ने विकासका काममा पनि राजनीतक पूर्वाग्रह राखिनु गलत भएको बताए ।
पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारकै कारण गौतमबुद्ध विमानस्थल चल्न नसकेको बताए। बनेको विमानस्थल चलाउन नसक्ने सरकारले अरू कुनै काम गर्न नसक्ने बताउदै उनले भने ‘यो एयरपोर्ट सरकारकै कारण चल्न नसकेको हो,’ ‘सरकार, मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण, सचिवले पहल गर्नुपर्ने काम हो । उनीहरुले केही गर्न सकेनन् । बनेको विमानस्थल चलाउन नसक्ने सरकारले केही गरेर खाँदैन ।’

पूर्वअर्थमन्त्री पौडेलले बुद्धजन्मस्थलबाट देशको मुहार फेर्न र वृहत लुम्बिनीको विकास गर्न बनाइएको विमानस्थल संचालनबारे सरकार संवेदनशील हुनैपर्ने जिकिर गरे । उनले थपे, ‘हामीले धेरै मेहेनत गरेको बनाइएको विमानस्थल हो । व्यवसायीहरु चिन्ता नलिनुहोस् हामीले चलाएर छाड्छौं । आकर्षक विमानस्थलको रुपमा अघि बढाएरै छाड्छौं ।’ यो सरकार सम्पूर्ण रूपमा असफल भएको भन्दै पौडेलले असफल सरकारले देशको सही नेतृत्व गर्न नसक्ने बताए ।
बुटवल–नारायणगढ सडक निर्माणमा पनि लापरवाही भएको पौडेलले बताए । ‘निर्माण कम्पनीले ढिलासुस्ती र लापरवाही गर्दा सरकारले तमासा हेरेस बस्ने होइन,’ पौडेलले भने, ‘गुणस्तरीय रूपमा सञ्चालन गर्न सघाउन सकेको छैन । सडक निर्माणको ढिलासुस्ती ‘टु मच’ भइसक्यो ।’ बुटवल बजार क्षेत्रको सडक सरकारकै कारण बन्न नसकेको पौडेलको भनाइ छ । बुटवललाई आकर्षित र विकासशील सरकार बनाउन आफू अविछिन्न रुपमा लाग्ने बताए ।
तिनाउ दावन करिडोरका लागि छुटाइएको बजेट भारी रूपमा कटौती गरेर निर्माणमा चुनौती खडा भएको बताए । देशको अर्थतन्त्र बिग्रिनुको पछाडि कोरोनालाई दोष दिन नपाइने पूर्वअर्थमन्त्री पौडेलले बताए । अहिले देशको अर्थतन्त्र हेर्दा आङ सिरिङ्ग हुने पौडेलले बताए । ‘सरकारको ढुकुटी २ खर्बले ऋणात्मक छ । सरकारले कर्मचारीलाई तलब र साधारण खर्च तिर्न नसकेर ऋण उठाएको छ । राजश्व संकलन हुन सकेको छैन । राजश्व लक्ष्यअनुसार उठन सकेको छैन । राजश्वले साधारण खर्च धान्न सकेको छैन । गत वर्षभन्दा ६० प्रतिशत कम सहयोग प्राप्त हुन्छ भन्ने बताएका छन् । पूँजीगत खर्च पनि लथालिङ छ ।’ पौडेलले भने ।
ठूला आयोजना बजेटको कारणले कार्यान्वन हुन नसक्ने अवस्थामा पुगेको उनले बताए । आजको समस्या गम्भीर अवस्थामा पुगेको छ, जनताका चाहनामा मलजल गर्न आफूहरु आउने पौडेलले बताए ।

लुम्बिनी रिभ्यू