• Saturday 25th July 2026

सर्लाहीमा तनाव, प्रहरीको गोली लागि एकको मृत्यु

सर्लाहीमा तनाव, प्रहरीको गोली लागि एकको मृत्यु


  • लुम्बिनी रिभ्यू

सर्लाही । सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ ।

बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको जनाएको छ ।

गोली लागी सोही वडाका जयशंकर साहको मृत्युभएको बताइएको छ । तर प्रहरीले अहिलेसम्म त्यसको पुष्टि गरेको छैन । उहाँ आन्दोलनकारी नभएर सडकमा हिँडिरहेको बटुवा रहेको आन्दोलनकारीको दाबी छ ।

आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले घटनास्थलको थप विवरण आउन बाँकी रहेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिनुभयो । बरहथवा बजार क्षेत्रमा अहिले व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

गत असोज ९ गते बरहथवा नगरपालिकाको नगर कार्यपालिका बैठकले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुस १८ गते बसेको कार्यपालिका बैठकमा बहुमत सदस्यले सो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गर्नुभएको थियो ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend