• Saturday 25th July 2026

बुटवलमा युद्धविरोधी प्रदर्शन

बुटवलमा युद्धविरोधी प्रदर्शन


  • लुम्बिनी रिभ्यू

बुटवल ।
मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले आइतबार बुटवलमा युद्धविरोधी प्रदर्शन गरेको छ ।
रुसलाई युक्रेनमाथिको आक्रमण बन्द गर्न, युद्धको कहालीलाग्दो शिलशिला अन्त्य गर्न विभिन्न प्रलोभन दिएर रुसी सेनामा नेपालीलाई भर्ना गर्ने र युद्धमा प्रयोग गर्ने कार्य बन्द गर्न, इजरायललाई तत्काल युद्धविराम गरी मानवताविरुद्धको अपराध बन्द गर्न र हमासलाई आतंक बन्द गरी विपिन जोशी लगायत बन्धक बनाइएका सबैलाई रिहा गर्न माग गर्दै समाजले प्रदर्शन गरेको हो ।
बुटवलको पुष्पलाल पार्कमा भएको प्रदर्शनमा शान्तिवादीहरुले युद्ध आक्रमणको विरोधमा विभिन्न प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रदर्शनमा युक्रेनमाथि रुसको आक्रमण मानवता विरुद्धको अपराध हो, रुसः तत्काल युद्ध रोक, रुसः मानवता विरुद्धको अपराध बन्द गर, युक्रेनी जनताको जीवन रक्षा गर, युक्रेनमा रहेका सबै मानिसको जीवन रक्षा गर, रुसः तत्काल सैनिक फिर्ता गरी युद्ध रोक, इजरायलः तत्काल युद्धविराम गर, हमासः आतंक बन्द गर लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा शान्ति समाजका निवर्तमान केन्द्रीय सभापति गोविन्द खनालले कुनैपनि देशमा युद्ध हुनु मानव सभ्यताका लागि गम्भीर चुनौती रहेको भन्दै युद्धको माध्यमबाट होइन शान्तिको माध्यमबाट अघि बढ्नुपर्ने बताए ।
समाजका रुपन्देही अध्यक्ष कृष्णप्रसाद भट्टराईले युद्धले नागरिकलाई गम्भीर असर पु¥याउने भएकाले शान्तिको बाटो अवलम्वन गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय अध्यक्ष डा. बालकृष्ण चापागाईं, उपभोक्ता हित रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, लेखक ऋषि आजाद, समाजका सचिव कृष्ण पाण्डेलगायतले युद्धबाट होइन शान्तिको मार्गबाट सबै देश अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend