• Saturday 25th July 2026

जनतालाई छुने विषयमा कार्यसूचि बनाएर हिंड्न निर्देशन

जनतालाई छुने विषयमा कार्यसूचि बनाएर हिंड्न निर्देशन


  • लुम्बिनी रिभ्यू

 

बुटवल।
नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुने चुनौतिपूर्ण काममा पार्टी कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गरेका छन् ।
सोमबारदेखि बुटवलमा सुरु भएको नेकपा (एमाले) रुपन्देहीको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले पार्टीलाई विधि, पद्तिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतिपूर्ण रहेकोतर्फ कार्यकर्ताको ध्यान आकृष्ट गर्दै विधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई ध्यानपूर्वक अख्तियार गर्न आग्रह गरे ।
पार्टीभित्र नीतिमा समस्या नरहेकोले बैयक्तिक स्वार्थमा रहेर काम नगर्ने हो भने अहिले पार्टीमा कुनै समस्या नरहेको तर अरुको तुलनामा हैन हाम्रो आवश्यकताका आधारमा हुन जरुरी रहेको पौडेलको भनाइ रहेको थियो ।
रुपन्देही पार्टीका लागि चुनौतिपूर्ण र अपरिहार्य कार्यसूचिभित्र सुकुम्वासी र अव्यवस्थित बसोवासीको समस्या समाधान पहिलो नम्बरमा रहेकोले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न तथा युवा पंक्तिलाई आग्रह गर्दै एमाले मार्फत नै युवा समस्याको समाधान हुन्छ भन्ने बिश्वास दिलाएर तदनुसारको काममा लाग्न पौडेलले निर्देशन दिएका थिए ।
उपाध्यक्ष पौडेलले भने–‘शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हामीले के गर्न सक्छौं ? यसवारेमा सरकार बाहिर छँदा पनि योजना बनाउन आवश्यक रहेकोले वैकल्पिक कार्यक्रम बनाउनुपर्यो ।’ सबै तहको पार्टी नेतृत्वले आर्थिक सामाजिक रुपमा देश बदल्ने योजना बनाउन जरुरी रहेकोले बैठक, सम्मेलन, कार्यविभाजन र भाषण गरेर मात्र अब नहुने, जनतालाई छुने विषयमा कार्यसूचि बनाएर हिंड्नुपर्ने उनको निर्देशन रहेकाे थियो ।
प्रशिक्षण कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउन सुझाव दिँदै उपाध्यक्ष पौडेलले सर्वाधिक महत्वपूर्ण कार्यक्रममा अनुपस्थित हुनेलाई जिल्ला कमिटीले यथोचित स्पष्टीकरण लिने काम गर्नुपर्ने बताए । जीवन र जगतको परिभाषा जान्न तथा परिवर्तनको नियम बुझ्न पनि माक्र्सवादी दृष्टिकोणको अध्ययन जरुरी रहेकोले पुस्तक र समाज दुवै पढ्नका लागि उनले आग्रह गरे।
जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा स्वागत स्कुल विभाग प्रमुख युवराज घिमिरेले, सञ्चालन सचिव यज्ञ गैरेले गरेका थिए ।
प्रशिक्षण कार्यक्रममा जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा कार्यभार विषयमा प्रमुख प्रशिक्षक पार्टी उपमहासचिव, केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश पार्टी स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन प्रस्तुति सीप शैली र कला, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग लगायतमा प्रशिक्षण दिनेछन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend