बुटवल । नेपाली काङ्ग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगन थापाले गठबन्धन सरकारले अपेक्षा गरेअनुसारको नतिजा दिन नसकेको जनाएका छन् ।
‘सरकार बन्दा जुनरुपमा उत्साहपूर्वक गठन भएको थियो सोही अनुरुप उल्लेखित नतिजा आउन सकेको छैन, जनताले त्यसको डेलिभरी पाउन सकेका छैनन्’– मेची–महाकाली संवादयात्राका क्रममा मंगलबार पश्चिमनवलपरासी आएका महामन्त्री थापाले भने–‘ निर्वाचनअघि गरिएको गठबन्धनबाट आमकार्यकर्तामा व्यापक असन्तुष्टि छाएको छ, निर्वाचन हारेका ठाउँमा मात्र नभै निर्वाचन जितेका ठाउँहरुमा समेत चरम असन्तुष्टि रहेको संवाद यात्राका क्रममा पाइएको छ । ’ निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको नेता थापाले बताए ।
संवाद यात्राका क्रममा आम नागरिकहरूले थुप्रै समस्या उठान गरेकोमा मूलत भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको उनले बताए । यात्राका क्रममा आयोजना सुरु भएर १०–१२ वर्षसम्म पनि पूर्णता नपाउँदा त्यसले पुर्याएको क्षति,स्वास्थ्य सस्थाहरु नचलेका विषयहरू,कृषि क्षेत्रका समस्या,सहकारी,लघुवित्त र वैदेशिक रोजगारीबाट ठगिएका लगायतका आमनागरिकका समस्याहरू पाइएको महामन्त्री थापाले बताए।
जुन उद्देश्यले हुलाकी राजमार्ग निर्माण भएका छन्, त्यसले नागरिकको जीवनशैली र कृषि क्षेत्रमा खासै परिवर्तन आउन नसकेको महामन्त्री थापाको भनाइ छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएपछि संवाद यात्रा अन्तर्गतको बाँकी यात्रालाई पछि निरन्तरता दिने गरी मंगलबार नै अन्य कार्यक्रम स्थगन गरिएको लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले बताए ।

लुम्बिनी रिभ्यू