तानसेन । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले समयअनुसार अपडेट नहुने नेताले राजनीति गर्न नसक्ने बताउनुभएको छ ।
नेकपा (एमाले) पाल्पाको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमको मंगलबार तानसेनमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘कि अपडेट हुन सक्नुपर्छ, कि आउटडेटेड हुनुपर्छ ।’
मुलुक परिवर्तन गर्ने एक मात्र पार्टी एमाले भएकोले पार्टीसँगै नेता पनि आधुनिक हुनुपर्ने र सामाजिक सञ्जाल तथा अत्याधुनिक प्रविधिबारे जानकार हुनुपर्छ, ज्ञवालीको भनाई थियो ।
हरेक नेता कार्यकर्ता अध्ययनशील हुनुका साथै पछिल्लो समय आधुनिक प्रविधिले फड्को मार्दै गएकोले यीनै प्रविधिसँग खेल्नसक्ने युवा राजनीतिमा आउनु आवश्यक रहेको पनि उहाँले वताउनुभयो । अझै पनि अधिकांश नेता पुरानै शैलीमा रहेकाले अव त्यसो हुने छूट कम्तिमा नेकपा (एमाले)लाई छैन भन्दै उहाँले थप्नुभयो, समय सापेक्ष बन्न नसके जनताले विश्वास नगर्ने भएकोले समयअनुसार परिवर्तन हुन र तदनुसारको क्षमता वृद्धि गर्नेतर्फ लाग्न निर्देशन गर्नुभयो ।
आगामी दिनमा नेकपा (एमाले) को पार्टीे नेतृत्व वा कुनै पनि निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्न पार्टीले परीक्षा लिने तयारी गरिरहेको तर्फ ध्यानाकर्षण गर्दै परीक्षामा उर्तीण नभए टिकट नपाउने अवस्था छ भन्नुभयो ।

आधारभूत पाठ्यक्रम निर्माण गरेर आवश्यकताअनुसार परिक्षा लिइनेछ र स्थानीय तहका लागि आधारभूत, प्रदेशका लागि माध्यमिक र केन्द्रीयका लागि उच्च माविस्तरको परिक्षा सञ्चालन हुनेछ, उहाँले भन्नुभयो । नेतालाई स्थानीय, प्रदेश र संघीय सरकार सञ्चालन गर्ने क्षमता अभिवृद्धिका लागि पार्टीले यस प्रकारका प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी गराउँदै उपमहासचिव ज्ञवालीले आगामी दिनमा पाठ्यक्रम निर्माण गरेर नियमित परिक्षा लिने योजना रहेको वताउनुभयो ।
आफूले राजनीति के का लागि गरेको हो ? कसका लागि गरेको हो ? निर्वाचित भएपछि जनता, समाज, राष्ट्रका लागि के गर्न सक्छु ? भन्ने कुनै योजना निर्माण गर्न नसक्ने व्यक्तिले पार्टीको हितमा काम गर्न सक्दैन, ज्ञवालीको भनाई थियो । विगतमा कार्यकर्ता भेला गरेर भाषण मात्रै गर्ने चलन भएपनि अबका दिनमा आफ्नो योजनाबारे जनतालाई स्पष्ट पार्न सक्नुपर्छ, उहाँले भन्नुभयो ।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षणमा पार्टीको नीति, सिद्धान्त, बिचार, सरकारमा नेतृत्व लिएपछि के गर्दा जनता, राष्ट्र र राष्ट्रियताको हितमा काम गर्न सकिन्छ ? भन्नेबारे स्थानीय तहका नेतालाई पढाउने काम भइरहेको उपमहासचिव ज्ञवालीले बताउनुभयो ।
फरक पार्टी, भिन्न भिन्न धारबाट एमाले पार्टीमा आएका नेता तथा कार्यकर्ताको बुझाईमा एकरुपता ल्याउन प्रशिक्षण कार्यक्रम प्रभावकारी हुने विश्वास गरिउको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण तालिममा जिल्लाका करिब एक सयभन्दा बढी नेताको सहभागिता रहेको छ ।
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव पद्मा अर्याल, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

लुम्बिनी रिभ्यू