• Saturday 25th July 2026

एमालेको बहुमत नआउँदासम्म मुलुकले निकास पाउदैन : एमाले महासचिव पोखरेल

एमालेको बहुमत नआउँदासम्म मुलुकले निकास पाउदैन : एमाले महासचिव पोखरेल


  • लुम्बिनी रिभ्यू

बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तामा टिकिरहने सत्तागठबन्धन आबद्ध दलहरूका सोचले मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको बताएका छन्। एमाले रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको बताए ।
‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन्। ऋण दैनानुदिन बढिरहेको छ। जनता गरिबीले छट्पटिएका छन्। युवा विदेश जान बाध्य छन्’ पोखरेलले भने।

एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने र देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिए।

आन्दोलन संस्थागत गर्ने वेला कांग्रेसले जहिल्यै धोका दिने गरेको उनले बताए । उनले भने, ‘२०१७ देखि हालसम्मका विभिन्न आन्दोलन भए। कांग्रेस पनि जिम्मेवार पार्टी हो। तर आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न कांग्रेसले धोका दिने गरेको छ। इमानदार भएर राजनीति गरेको भए पटकपटक आन्दोलन गर्नुपर्ने थिएन।

‘कुराभन्दा काम गर्ने वेला आएको छ। जनताले कामको मूल्यांकन गर्छन्’, उनले भने ‘जनताको माग र आवश्यकताको आधारमा काम गर्न सक्नुपर्छ।’

जितको ठाउँको रक्षा गर्ने र नयाँ स्थानीय तहमा आगामी निर्वाचनमा जित हासिल गर्ने गरी पार्टीका गतिविधि प्रभावकारी ढंगले सञ्चालन गर्नु पर्ने महासचिव पोखरेलले बताए।
नेकपा एमालेको नेतृत्वमा बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने उनले बताए।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend