बुटवल, रुपन्देहीमा यही फागुन १३ गतेदेखि दादुरा, रूबेला विरुद्धको खोप अभियान सुरु हुदैछ । जसमा रुपन्देहीमा ३ लाख १४ हजार ७ सय ३८ जना बालबालिकालाई दादुरा, रूबेला विरुद्धको खोप लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीले बुटवलमा विहीबार पत्रकार सम्मेलन गर्दै ९ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाउने जनाएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार रुपन्देहीमा खोप दुई चरणमा लगाइने छ । पहिलो चरणमा फागुन १३ देखि १७ सम्म ९ वटा पालिका तथा फागुन २० देखि २४ गतेसम्म ७ पालिकामा गरी खोप लगाइने छ ।
स्वास्थ्य कार्यालय रुपन्देहीका खोप अधिकृत तथा सूचना अधिकारी डा।.भेषराज शर्माले पहिलो चरणमा बुटवल उपमहानगरपालिका, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, सिद्धार्थनगर नगरपालिका, ओमसतिया, रोहिणी, सियारी र शुद्धोधन गाउँपालिकामा दादुरा(रूबेलाविरुद्धको खोप लगाइने बताए । त्यस्तै दोस्रो चरणमा सैनामैना नगरपालिका, गैडहवा, कञ्चन, सम्मरीमाई, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकामा खोप लगाइने बताए ।
जिल्लाका १६ स्थानीय तहमा १ हजार १ सय ११ खोप केन्द्रबाट खोप लगाइने शर्माले बताए । उनले यो अभियानमा २ हजार २ सय स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक खटिने जानकारी दिए । जिल्लामा ३४ हजार ९ सय ३६ भायल एमआर भ्याक्सिन र ३ लाख ९१ हजार ५ सय ४ वटा सिरिञ्ज आवश्यक पर्ने छ । खोप अभियान पूर्ण सफल बनाउन विभिन्न माध्यमबाट प्रचारप्रसार सुरु भएको स्वास्थ्य कार्यालयका खोप अधिकृत चिन्तामणि ज्ञवालीले बताए । ज्ञवालीले यो अभियान विद्यालय केन्द्रीत हुने जानकारी दिए ।
नेपालले सन् २०२६ सम्ममा दादुरा रूबेला निवारण गर्ने प्रतिवद्वता व्यक्त गरेको छ । त्यसका लागि अभियान चलाउन लागिएको हो ।

लुम्बिनी रिभ्यू