बुटवल । पूर्व उपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा अगाडि बढेको अत्याधुनिक संरचनासहितको अस्पताल भवन निर्माण छिटो समपन्न गर्नु पर्ने बताएका छन् ।
रुपन्देही क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पौडेलले समयमै आयाेजना सक्ने गरी काम गर्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरेका छन् । सोमबार अस्पतालको निरीक्षणपछि आयोजनाको बारेमा जानकारी लिंदै पौडेलले कुनै पनि बहानामा आयोजना सम्पन्न गर्ने काममा ढिलाई नगर्न सचेत गराए ।
लुम्बिनी प्रादेशिक अस्पतालमा ६ अर्ब १८ करोड ७५ लाखको लगानीमा नयाँ १० तले एक हजार दुई सय शैय्याको आधुनिक अस्पताल भवन निर्माणका लागि प्रक्रिया अगाडि बढेको छ । पाँच वर्षभित्र यो आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ । “यो वा त्यो बहानामा आयोजना निर्माणमा ढिलाई गर्नु हुँदैन, समयमा सम्पन्न गर्ने र गुणस्तरीय काम गर्ने गरी आवश्यक परेको समयमा हामी भोलन्टियरली खटिन तयार छौं ।”
“५ वर्षे अवधिको लागि क्यालेण्डर बनाएर काम गर्नुस्, तोकिएको अवधिभित्रै भवन निर्माणसहितका संरचना तयार होस्, त्यसो नभए नागरिकस्तरबाट प्रश्न उठ्छ, प्रश्न उठ्ने काम कतैबाट पनि नहोस्”–पौडेलले भने ।
रुपन्देहीमा यति ठूलो बजेट आकारको आयोजना अरु कुनै नभएको भन्दै पूर्व अर्थमन्त्री पौडेलले प्रदेशले अगाडि बढाएको यो आयोजनालाई संघीय सरकारबाट आवश्यक पर्ने सहयोगका लागि समेत आफूले पहल गर्ने बताए । “प्रदेश सरकारले पनि यो आयोजना त्यत्तिकै अगाडि बढाएको होइन, यसका लागि ठूलो पापड बेलिएको छ, यसमा कहीं कतैपनि चलखेल नगरीकन काम सम्पन्न होस् भन्ने यहाँका नागरिकको चाहना छ”–उनले भने । आफूले यस अस्पतालमा कहिले बिरामी बनेर र कहिले कुरुवा बनेर दिनरात बिताएको स्मरण गर्दै पौडेलले यो आयोजना आफ्नो लागि सर्वाधिक सरोकारको आयोजना भएको पनि बताए ।
“व्यवस्था परिवर्तनपछि नागरिकले आफ्नो जीवनमा परिवर्तन खोजेका छन्, त्यो शिक्षा र स्वास्थ्यमा हुने परिवर्तनले मात्र सम्भव छ”–उनले भने ।
अस्पतालको संरचना निर्माणका लागि ८ अर्ब ९९ करोड ७५ लाख ६४ हजार एक सय ९९ रुपैयाँ २३ पैसा बराबरको लागत अनुमान गरिएको थियो । निर्माण कम्पनीले ६ अर्ब १८ करोड ७५ लाखमा निर्माण सुरु भएको पाँच वर्षमा सक्ने गरी ठेक्का सम्झौता गरेको छ ।

लुम्बिनी रिभ्यू