• Saturday 25th July 2026

प्रधान सम्पादक ज्ञवालीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार

प्रधान सम्पादक ज्ञवालीलाई राष्ट्रिय पत्रकारिता पुरस्कार


  • लुम्बिनी रिभ्यू

लुम्बिनी रिभ्यु डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवाली १ लाख पुरस्कार राशीको राष्ट्रिय पत्रकारिता पुस्कारबाट पुरस्कृत भएका छन् । गोरखापत्र दैनिकका पूर्व विज्ञ सल्लाहकार रहेका ज्ञवाली २ वर्षयता दैनिक पत्रको सल्लाहकार सम्पादकको जिम्मेवारीमा पनि छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौं राष्ट्रिय पत्रकारिता दिवस २०८१ का अवसरमा शीतल निवासमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सो पुस्कारबाट पत्रकार ज्ञवालीलाई पुरस्कृत गरेका हुन् । कार्यक्रममा ज्ञवालीसहित वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानीसिंह ऐर, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत भएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दैै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्त्वपूर्ण पक्ष भएको बताए । पत्रकारिताको धर्म र व्यवसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवर्द्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै उनले भने “पत्रकारिता क्षेत्रमा खोज र नवीनता प्रवर्द्धनमार्फत् अझ बढी व्यावसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व वहन गर्ने गरी प्रेसप्रतिको जनविश्वास बढाउने कार्यमा तपाईंहरू लाग्नुनै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”
निरङ्कुश शासनको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्त्वपूर्ण रहेको उनले स्मरण गरे । “लोकतान्त्रिक शासन प्रणालीमा मात्र निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव छ, त्यसैले अब यसको सुदृढीकरण र यो व्यवस्थाप्रति जनताको भरोसा अभिवृद्धिमा तपाईहरु अझ क्रियाशील हुनुहुनेछ”, उनले भने। सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझै प्रभावकारी ढङ्गले अघि बढ्ने उनले विश्वास व्यक्त गरे ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend