• Saturday 25th July 2026

बाढी पहिरोबाट जनधनको ठुलो क्षति

बाढी पहिरोबाट जनधनको ठुलो क्षति


  • लुम्बिनी रिभ्यू

काठमाडौँ ।  देशका विभिन्न भूभागमा अधिक वर्षा हुँदा ठुलो जनधनको क्षति भएको छ । यो क्रम शनिबार रातिदेखि पश्चिमतर्फ सर्दै गरेकाले त्यसतर्फ बाढी र पहिरोको उच्च जोखिम बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार विगत २४ घण्टामा बाढी–पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । अन्य सात जना बेपत्ता छन् । यससँगै मनसुन सुरु भएयता मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

शनिबार पहिरोले पुरिएर स्याङ्जामा दुई जना, पर्वतमा दुई जना र काठमाडौँमा एक जना, काभ्रेमा दुई जना, तनहुँमा एक जना र दाङमा एक जना गरी नौ जनाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो । काभ्रेपलाञ्चोक जिल्लाको रोसी गाउँपालिका–११ मा खोला तर्ने व्रmममा खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो । शनिबार साँझ भ्याकुरे खोला तर्ने व्रmममा स्थानीय ६५ वर्षीया जालमाया रुजाल मगर र उहाँकी पाँच वर्षीया भदै सेतीमाया रुजाल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

तनहुँको ऋषिङ गाउँपालिका–१, झापुटारमा एक जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको र शुक्लागण्डकी नगरपालिका–१३, काउरेमा पहिरोमा पुरिएर तीन जना बेपत्ता भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो । काउरेका ४० वर्षीय हीरा नेपाली, ३६ वर्षीया अनिशा बास्तोला र ६५ वर्षीय श्याम भण्डारी बेपत्ता भएको र खोजी जारी रहेको गौतमले बताउनुभयो ।

दाङमा एक जना, पर्वतमा दुई जना र दोलखामा एक जना गरी सात जना बेपत्ता रहेको प्रवक्ता कार्कीले बताउनुभयो । त्यस्तै पहिरोले तनहुँमा पुरिएर चार जना, गुल्मीमा एक जना र ओखलढुङ्गामा दुई जना गरी सात जना घाइते भएका छन् । काठमाडौँको नागार्जुनमा पहिराले रेस्टुरेन्ट पुरिँदा गोरखाका मनोज विकको मृत्यु भएको छ ।

स्याङ्जाको बिरुवा–६, लामाखेतमा ईश्वरी लम्सालको घर पुरिँदा ६५ वर्षीय गुह्येश्वरी शर्मा मरासिनी र ५८ वर्षीय हरिदेवी शर्माको मृत्यु भएको छ । ६६ वर्षीय माधव शर्मा बेपत्ता छन् ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend