• Saturday 25th July 2026

एमाले सचिवालय बैठक : नेता-कार्यकर्ताहरूको नयाँ कार्यविभाजन

एमाले सचिवालय बैठक : नेता-कार्यकर्ताहरूको नयाँ कार्यविभाजन


  • लुम्बिनी रिभ्यू

काठमाडौँ-नेकपा एमालेले नेता-कार्यकर्ताहरूको नयाँ कार्यविभाजन गरेको छ। बुधबार पार्टी कार्यालय च्यासल, ललितपुरमा बसेको सचिवालय बैठकले कार्यविभाजनको मापदण्डबारे निर्णय गरेको हो।

एमालेले एक वर्षअघि गरेको कार्यविभाजन र जिम्मेवारी हेरफेर गरिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, ‘नयाँ कार्यविभाजन अनुसार अब केन्द्रीय नेताहरू आफ्नै क्षेत्रमा खटाइनेछ। एक वर्षअघिको नेताहरूको कार्य विभाजन र जिम्मेवारी फेरिएको छ।अब नेताहरू आफ्नै कार्यक्षेत्रमा फर्कनुहुनेछ। केन्द्रीय सदस्यहरूलाई आफ्नै प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन क्षेत्र तोकिएको छ।’

उहाँले निर्वाचन क्षेत्रभन्दा माथिको जिम्मेवारी लिन चाहने नेताहरूले जिल्ला या प्रदेशको पनि लिन सक्ने बताउनुभयाे।

‘केन्द्रले निर्वाचन क्षेत्रलाई कार्य विभाजको इकाई बनाउने भएकाले अव प्रदेशले आफ्ना सदस्यहरूको कार्य विभाजन गर्दा पालिकालाई आधार बनाउनेछ’, उपमहासचिव ज्ञवालीले भन्नभयो, ‘जिल्ला कमिटीले आफ्ना सदस्यको कार्य विभाजन वडा कमिटीलाई बनाउने छ। र पालिकाले टोललाई बनाउने छ भने टोल कमिटीले टोलभित्र रहेका प्रत्येक घरको हिसाबले सदस्यहरूको कार्य विभाजन गर्ने गरी मापदण्ड निर्धारण गरेका छौं।’

नेकपा एमालेका केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र अब प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा हुने भएको छ। यसअघि पालिका इन्चार्जसम्म बनेका केन्द्रीय सदस्यहरुको कार्यक्षेत्र अब निर्वाचन क्षेत्र हुने र ती कमिटीलाई प्रभावकारी बनाउने मापदण्ड केन्द्रीय सचिवालयले पारित गरेको छ।

अब प्रदेश कमिटीले पालिका र जिल्लाले वडा तथा वडाले टोल कमिटी तथा टोल कमिटीले पार्टी सदस्यलाई कामको क्षेत्र बनाउनेछन्। एमालेले फरक भूगोलमा पठाएका नेताहरूलाई आफ्नै कार्यक्षेत्रमा फर्काएको छ।

त्यस्तै एमालेले सबै जिल्लाहरूलाई साउन महिनाभित्र २०८१ को पार्टी सदस्यता नवीकरण गरेर भदौसम्म केन्द्रीय सङ्गठन विभागबाट प्रमाणीकरण गरिसक्न निर्देशन दिएको छ।

हाम्रो बारेमा

महत्वपूर्ण लिंकहरु

सम्पर्क

Social Media


© 2026 Lumbini Review All right reserved  | Site By : SobizTrend